Saturday, June 30

स्पेन र इटाली फाइनलमा भिड्ने















मारियो बालोटेलीले उत्कृष्ट प्रदर्शन गरेपछि बिहीबार राति जर्मनीलाई २-१ ले हराउँदै इटाली युरोकपको फाइनलमा पुगेको छ । अब उपाधिका लागि इटालीले आइतबार किभ रंगशालामा साबिक विजेता स्पेनको सामना गर्नेछ ।
चालू युरोकपका सबै प्रतियोगितामा जित निकालेको जर्मनीले सेमिफाइनलमा इटालीलाई सहजै पाखा लगाउने अनुमान थियो । कतिपय युरोपेली मिडियाले जर्मनी र स्पेनबीच फाइनल हुने अनुमानसमेत गरेका थिए । यसअघि स्तरीय प्रदर्शन गर्न नसकेको इटालीले वार्स रंगशालामा जर्मनीविरुद्ध सानदार प्रदर्शन गरेको थियो ।

विशेषगरी म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर बालोटेलीको खेल हेर्नलायक थियो । पहिलो हाफमा बालोटेलीले विश्वस्तरीय दुई गोल गर्दा जर्मन टोली स्तब्ध भयो । बालोटेलीको दुई गोलका कारण नै जर्मनी प्रतियोगिताबाट बाहिरियो । यता, जर्मनीको लगातार १५ खेलको अपराजित यात्रालाई इटालीले तोडेको छ ।
स्ट्राइकर बालोटेलीले खेलको २०औँ मिनेटमा डिबक्समा हेडिङ गोल गर्दै इटालीलाई १-० ले अघि बढाए । त्यसपछि खेलको ३६औँ मिनेटमा अफसाइड ट्रयाप बिट गर्दै पहिलो बारमा २-० का लागि गोल ठोक्दा जर्मनी टोली पूरै स्तब्ध भयो । मिडफिल्डर एन्टिनोले दुई रक्षकको बीचबाटै बालोटेलीलाई पास उपलब्ध गराएका थिए ।
जर्मनीका गोलरक्षक नेउरले रेप|mीसँग अफसाइड अपिल गरेका थिए । तर, बालोटेली भने अफसाइडमा थिएनन् । मैदानको ३५ यार्डदेखि उत्कृष्ट 'डि्रब्लिङ' गर्दै बालोटेलीले गोलरक्षक नेउरलाई छेक्न मौका नदिई गोल गरे । डिबक्स लाइनबाहिरबाट बालोटेलीको शक्तिशाली प्रहारको अनुमान जर्मनीका गोलरक्षक नेउरले पाउनै सकेनन् । बालोटेलीको 'पावरफुल' प्रहार क्रसबारभन्दा निकै माथि जाने सम्भ“mदै गोलरक्षक नेउरले छेक्नसमेत प्रयास गरेनन् ।
सम्भवतः चालू युरोकप फुटबलकै उत्कृष्ट गोल गरेपछि खुसियाली आफ्नै शैलीमा मनाउँदा बालोटेलीले पहेँलो कार्डसमेत खाए । जर्मनीको गोलपोस्टमा जर्सी फुकाल्दै बालोटेलीले खुसी मनाएका थिए । अन्तर्राष्ट्रिय फुटबल नियमअनुसार मैदानभित्र खेलाडीले जर्सी फुकाल्न पाइँदैन । मैदानभित्र जर्सी फुकाले खेलाडीलाई सीधै चेतावनीस्वरूप पहेँलो कार्ड देखाइन्छ । यसअघिका प्रतियोगितामा रक्षात्मक रणनीति अपनाएको इटालीले जर्मनीविरुद्ध आक्रामक शैली देखाएको थियो ।
यता, जर्मनी भने आफ्नो स्वाभाविक खेलअनुरूप काउन्टर तथा लामो पासमा केन्दि्रत देखिएको थियो । जर्मनी पराजित हुनुमा इटालीका भेट्रान्स गोलरक्षक बुफानोको उत्कृष्ट प्रदर्शन पनि थियो । पहिलो हाफमा जर्मनीले कम्तीमा दुईपटक बराबरी गर्ने अवसर गुमायो । मिडफिल्डर वास्टिन स्वाइन्स्टाइगरले डिबक्सबाहिरबाट प्रहार गरेको उत्कृष्ट भलीलाई बुफानोले डाइभ गरी बचाएका थिए । मेसुट ओजिलले २५ यार्ड टाढाबाट प्रहार गरेको सुन्दर गोल प्रयासलाई बुफानो क्रसबारमा पन्च गर्दै क्लियर गरे । मारियो गोमेजको आकर्षक गोलप्रयाससमेत बुफानोले उत्कृष्ट ढंगले बचाउन गरेका थिए ।
दोस्रो हाफमा मैदानबाट बाहिरिँदा इटालीका समर्थकले बालोटेलीलाई स्वागत गरेका थिए । जर्मनीका प्रशिक्षक जोखिम लोउले दोस्रो हाफमा रणनीति परिवर्तन गरी भेट्रान्स स्ट्राइकर मिरोस्लाभ क्लोज तथा मिडफिल्डर थोमस मुलरलाई मैदानमा प्रवेश गराएका थिए । दुवैको आगमनपछि जर्मनीले पहिलो हाफको तुलनामा दोस्रोमा थप सुधारिएर खेलेको थियो । खेलको अन्तिम इन्जुरी समयमा जर्मनीले पेनाल्टी गोल गर्दै खेललाई २-१ को अन्तरमा झार्‍यो । म्याडि्रडका स्ट्राइकर ओजिलले टोलीलाई सो दूरीमा झारेका हुन् । तर, जर्मनीका लागि खेलमा र्फकन ढिला भइसकेको थियो ।
खेलपछि बालोटेलीले भने, 'खेलाडीको खुसी मनाउने शैली आ-आफ्नै हुन्छ, यसबाट कोही रिसाउन अवश्यक छैन, कोही रिसाउँछ भने मेरो क्षमतालाई डाहा गरेको ठान्दछु ।'
सुरुका खेलमा र्फममा आउन बालोटेली संघर्षरत थिए । कालो भएकाले युक्रेन र पोल्यान्डमा उनले रंगभेदीको समेत सामना गरेका छन् । गोल गरेको क्षण सम्भ“mदै उनले भने, 'यो क्षणका लागि मैले धेरै समय कुरेँ, यो गोल आमाका लागि समर्पित गरेको छु ।'

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस