ताजा समाचार

जोर्डनसँग नेपालको खराब नतिजा (फोटो फिचर सहित)

 

नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सबैभन्दा खराबमध्येको एक पराजय स्वीकारेको छ। विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो लेगमा नेपाल घरेलु टोली जोर्डनसँग ९-० को लज्जास्पद नतिजामा पराजित भएको थियो। जोर्डनको अम्मान रंगशालामा नेपाललाई हराउन मोहम्मद हसनले ४ तथा खालिद अमेर र अहमद हायलले २/२ र अब्दुल्लाले एक गोल गरे। 
नेपाली रक्षकहरूले निगरानीमा राख्न नसक्दा उत्कृष्ट हेडमा सहज गोल गर्दै सातौं मिनेटमा जोर्डनको खाता खोलेका मोहम्मदले ७४औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गरेका थिए। समय सकिन ६ मिनेट बाँकी रहँदा ह्याटि्रक पूरा गरेका उनले इन्जुरी समयको तेस्रो मिनेटमा व्यक्तिगत चौथो गोल गरे। जोर्डनका लागि दोस्रो गोल २०औं मिनेटमा खालिल अमेरले दुई रक्षक तथा गोलकिपर किरण चेम्जोङलाई कटाएर गरेका थिए। ३१औं मिनेटमा अमेरकै क्रसमा अहमद हायलले हेडमा गोल गर्दै अग्रता ३ गोलले फराकिलो पारे। पहिलो हाफको अन्ततिर नेपालले खेलमा केही सुधार गरे पनि इन्जुरी समयमा अर्को गोल खाँदा टोलीको आशा थप पातलियो। एक मिनेट थप गरिएको इन्जुरी समय सकिनै लाग्दा सलिम अब्दुल्लाहले गोल गरे।
अमेरले ५६औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट कडा प्रहारमा दोस्रो व्यक्तिगत गोल गर्दै जोर्डनलाई ५-० को अग्रता दिलाए भने त्यसको ८ मिनेटपछि अहमदले अर्को गोल गरे।
उनले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका हुन्। ७४ औँ मिनेटमा सातौं गोल खाएको नेपालविरुद्ध अन्तिम ६ मिनेट बाँकी रहँदा हिजाह आन्सको क्रसमा महमुद हसनले आठौं गोल गरे। इन्जुरी समयसम्म पनि नेपालको गोल खाने क्रम रोकिएन। इन्जुरी समयको तेस्रो मिनेटमा विकाससिंह क्षत्रीले गोललाइनबाट बचाएको बल राम्ररी क्लियर नहुँदा कसैको निगरानीमा नरहेका महमुदले व्यक्तिगत चौथो तथा टोलीको नवौं गोल गरे।
जोर्डनसँग ९-० ले पराजित भएपछि नेपाली टोलीको विश्वकप २०१४ को यात्रा लगभग टुंगिएको छ। अघिल्लो चरण प्रवेशलाई बिहीबार घरेलु मैदान दशरथ रंगशालामा हुने दोस्रो लेगमा नेपालले असम्भव १०-० को जित दर्ता गर्नुपर्नेछ।
नेपाली खेलाडी सामूहिक तस्बिर खिचाउँदै। तस्बिर : एएफपी
८ वर्षयता नेपाली फुटबलको यो सबैभन्दा फराकिलो हार हो। सन् २००३ मा सम्पन्न एसिया कप छनोटमा दक्षिण कोरियासँग १६-० ले पराजित भएयता नेपालले भोगेको यो फराकिलो हार हो। २६ बर्षअघि बाट विश्वकप छनोट खेल्न थालेको नेपालको सबैखाले अन्तर्राष्ट्रिय खेलमा यो पाँचौ ठुलो अन्तरको हार हो। नेपाल १९९० को विश्वकप छनोटमा दक्षिण कोरियासँग ९-० र २००२ मा इराकसँग ९-१ ले पराजित भएको थियो। १९८४ को एसियन कप छनोटमा संयुक्त अरब इमिरेटससँग ११-०, १९८७ को ओलम्पिक छनोटमा जापानसँग ९-० तथा चीनसँग १२-०, १९९४ को एसियाली खेलकुदमा दक्षिण कोरियासँग ११-० नेपालले विगतमा भोगेका ठूला अन्तरका अन्य हार हुन्।
जोर्डनका खेलाडी सामूहिक तस्बिर खिचाउँदै। तस्बिर : एएफपी
जोर्डनसँगको लज्जाजनक हारले तीन साताअघि घरेलु मैदानमा टिमोर लिस्टेविरुद्धको जित छायाँमा परेको छ। टिमोरलाई पहिलो लेगमा २-१ ले हराएको नेपालले अर्को लेगमा ५-० ले पछि पारेको थियो।
लगातार सफलता चुम्दै आएका नेपाली टोलीका बेलायती प्रशिक्षक ग्राहम रोबर्टसको सबै अनुमान जोर्डनसँगको खेलमा आएर तुहिएको छ। खेलका लागि जोर्डन प्रस्थान गर्नुअघि उनले कुनै पनि हालतमा ७-० वा ८-० को अन्तरमा पराजित नहुने दाबी गरेका थिए। बराबरी लक्ष्य बनाएका उनले नतिजा जे भए पनि खेल प्रतिस्पर्धात्मक हुने दाबी गरेका थिए।
नेपाली गोलरक्षक किरण चेम्जोङलाई छलाएर गोल गर्दै जोर्डनका खेलाडी। तस्बिर : एएफपी







तस्बिर : एएफपी




 

ओसामा बिन लादेन मारिएकै हुन् त ?



नागरिक न्यूज़ बाट साभार 
वैशाख १९- 'म आज अमेरिकी जनता र विश्वलाई यो बताउन चाहन्छु कि... ओसामा बिन लादेन मारिए', अमेरिकी राष्ट्रपति बाराक ओबामालआज बिहान टेलिभिजनमा सम्बोधन गर्दै घोषणा गरे, 'आज मेरो निर्देशनमा बिन लादेनविरुद्ध अमेरिकाले आक्रमण गरेको हो।‘ राष्ट्रपतिको सम्बोधन अघि नै यो खबर इन्टरनेटका सामाजिक सञ्जालहरुले व्यापक बनाइसकेका थिए। सम्बोधनपछि आधिकारिक रुपमा यो खबरको पुष्टि भएको मानियो। तर के साँच्चै लादेन मारिएकै हुन् त ?
१० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणलगत्तै अमेरिकाले अफगानिस्तानमा गरेको प्रत्याक्रमण कै क्रममा त्यहाँको तोराबोरा पहाडी क्षेत्रमा गरिएको बमवर्षामा उनी मारिएको शंका धेरैले गरेका थिए। तर केही घटनाहरुमा उनका अडियो टेप सार्वजनिक भएपछि उनी जिउँदै रहेको मानिएको थियो।
यस पटक राष्ट्रपति ओबामा आफैले लादेन मारिएको घोषणा गरेका छन्। त्यसैले विश्वभरका मिडियाले त्यसैलाई आधार मानेर समाचार बनाइरहेका छन्। तर घटनामा उनी मारिएको कुनै पनि भिडियो वा फोटो अमेरिकाले यो समाचार तयार पार्दासम्म सार्वजनिक गरिसकेको छैन।
पाकिस्तानको एक्सप्रेस न्युज, बेलायतको दि सन, मेल, टेलिग्राफ, मिरर लगायत विश्वभरका मिडियामा आएको लादेनको भनिएको टाउकोमा गोली लागेर मृत शरीर ‘फोटोसप ट्रिक' बाट बनाइएको स्पष्ट भइसकेको छ। ट्रिक फोटो भन्ने थाहा पाएपछि ती मिडियाले सो शंकास्पद फोटो हटाइसकेका छन्। यद्यपि प्रश्न कायमै छ- के साँच्चै लादेन मारिएका हुन् त?
यससम्बन्धमा अमेरिकी अधिकारीहरुले बताएका कुरामा शंका गर्ने स्थान प्रशस्त छ। ‘लादेनको शवलाई आफूहरुले नियन्त्रणमा लिएको' ओबामाले बताएका छन्। तर त्यसको पुष्टि हुने कुनै पनि प्रमाण मिडियामा दिइएको छैन। शवबारे केही खबर आउला कि भनेर पर्खिरहेका सञ्चारकर्मीहरु त्यतिबेला अचम्ममा परे जब एक अमेरिकी अधिकारीले यस्तो बयान दिए- लादेनको अन्त्येष्टि समुद्रमा इस्लामिक परम्पराअनुसार गरिसकियो। सञ्चारकर्मीहरुले थप बुझ्न चाहे, तर उनले बताउन चाहेनन्। यसअघि लादेनको शवलाई अफगानिस्तानको बाग्राम बेसमा राखिने र सञ्चारकर्मीहरुलाई पनि हेर्न दिइने खबर आएको थियो।
शव बिन लादेन कै हो भन्ने कसरी प्रमाणित गरियो त ? प्रश्न अमेरिकी मिडियामा पनि नउठेका हैनन्। सीएनएनले यसबारे प्रश्न सोध्दा एक अमेरिकी अधिकारीले जवाफ दिए- फेसियल इमेजिङ र अरु विधिको प्रयोग गरियो। डीएनए परीक्षण गरियो कि गरिएन भन्ने बारे चाहिँ ती राष्ट्रिय सुरक्षा अधिकारीले केही बताउन चाहेनन्। यसले पनि लादेनको मृत्युलाई शंकाले हेर्नेहरुको तर्कमा बल पुगेको छ।

‘षड्यन्त्र सिद्धान्त' बनाउनेहरुले उठाएका अर्को दुई प्रश्न पनि सोचनीय छ-
• लिबियाका शासक कर्णेल मुअम्मर गद्दाफीको निवासमा अमेरिकी नेतृत्वको सेनाले आक्रमण गरी उनका छोरा र नातिनातिना मारेको खबरको भोलिपल्टै त्यो खबर दबिने गरी यो घटना किन गराइयो ?
• अर्को वर्ष अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदैछ। सर्वेक्षणहरुले ओबामाको लोकप्रियता लगातार घटिरहेको देखाइरहेको छ, विपक्षी रिपब्लिकन पार्टीले उनीमाथि लगातार प्रहार गरिरहेको छ। यस्तो बेला कुनै दह्रो प्रमाणबिना ओबामाले किन ‘मेरो निर्देशनमा भएको आक्रमणमा लादेन मारिए" भन्न हतार गरे ?

अमेरिका यतिखेर विजयोत्सव मनाउन मस्त छ। उनीहरु प्रश्न गर्ने मूडमा छैनन्। लादेनको मृत्युबारे शंका उठाउनेहरुको जवाफ ओबामासँग मात्र छ। उनले यसको जवाफ कहिले दिने हुन्, अहिले नै भन्न सकिन्न। घटनाको अर्को पाटो अल कायदाले पनि यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन। त्यसैले अहिलेलाई यो प्रश्न प्रश्नमै सीमित  छ। जवाफको आशा चाहिँ गर्न सकिन्छ, किनभने यसअघि अबु मुसाब अल जारकावीको मृत्युपछि पनि उनको शवको तस्बिर सार्वजनिक गरिएको थियो। तर त्यतिञ्जेल लादेन मारिएकै हो भन्ने प्रमाण ओबामाको आधिकारिक वक्तव्यमात्र हो।

बिन लादेनको अन्त्येष्टि गरिसकियो : अमेरिकी अधिकारी

गएराति पाकिस्तानको राजधानी इस्लामावाद नजिकैको अब्बोत्ताबादस्थित घरमा भएको अमेरिकी आक्रमणमा मारिएका ओसामा बिन लादेनको समुद्रमा अन्त्येष्टि गरिसकिएको एक अमेरिकी अधिकारीले सीएनएनलाई बताएका छन्। ती अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताए पनि थप विवरण भने दिन चाहेनन्- सीएनएनले भनेको छ। 





  टाउकोमा गोली लागेको थियो बिन लादेनको
ओसामा बिन लादेनको टाउकोमा गोली हानिएको अमेरिकी अधिकारीहरुलाई उद्‍धृत गर्दै सीएनएनले जनाएको छ। बिन लादेनको भनिएको शवको तस्बिर केही पाकिस्तानी मिडियाले सार्वजनिक पनि गरेका छन्। तस्बिरमा उनको टाउकोको बायाँ पट्टी गोली लागेको देखिएको छ। 

बिन लादेनको शव बाग्राम बेसमा, पत्रकारहरुलाई हेर्न बोलाइयो
पाकिस्तानमा भएको अमेरिकी आक्रमणमा मारिएका अल कायदा प्रमुख ओसामा बिन लादेनको शवलाई अफगानिस्तानको बाग्राम बेस (अमेरिकी हवाई शिविर) मा लगिएको र शव निरीक्षण गर्न पत्रकारहरुलाई बोलाइएको अल जजिराका काबुलस्थित संवाददाताले बताएका छन्। 

खोजेको १० वर्षपछि मारिए ओसामा
अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको संगठन अलकायदाका 'मास्टरमाइन्ड' बिन लादेनको मृत्यु भएको छ। सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि विश्वभर थालिएको खोजी अभियानको १० वर्ष र आतंकवादविरोधी कारबाहीमा ३ हजार भन्दा बढीको मृत्यु पछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानमा गरिएको आक्रमणमा उनको मृत्यु भएको पुष्टि गरेका हुन्। लादेनसँगै थप तीन जना पनि मारिएका छन्। तीमध्ये एक उनका छोरा रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन्। उनीसँगै उनका अन्य परिवार सदस्य समेत मारिएको दावी गरिएको छ।  

अधिकारीहरुले उनको शव नियन्त्रणमा लिइसकेका छन्। यो अपरेसनमा कुनै पनि अमेरिकीलाई क्षति नपुगेको बताइएको छ।

बिन लादेन मारिएको खबरसँगै अमेरिकाले विश्‍वभरका अमेरिकी कार्यालयहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।  अलकायदाका सदस्यहरुले गर्नसक्ने  बदलाको आक्रमणलाई ध्यानमा राख्दै यस्तो निर्देशन दिइएको हो। 

ओसामा मारिएः ओबामा
ओसामा बिन लादेन मारिएको समाचार स्रोतलाई उद्‍धृत गर्दै अमेरिकी लगायत अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले दिएको केही समयमा नै अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रका नाममा सम्बोधन गर्द राति अबेर टेलिभिजनमा देखिए। 'म आज अमेरिकी जनता र विश्वलाई यो बताउन चाहन्छु कि.., ओसामा बिन लादेन मारिए', उनले घोषणा गरे, 'आज मेरो निर्देशनमा बिन लादेनविरुद्ध अमेरिकी सेनाले आक्रमण गरेको हो। भिडन्तपछि उनीहरुले ओसामालाई मारे र उनको शवलाई नियन्त्रणमा लिए।' घोषणासँगै राति अबेरसम्म पनि ह्वाइट हाउसअगाडि अमेरिकी झण्डा बोकेर खुसियाली मनाउनेहरुको भीड लागेको छ। ९ मिनेट २८ सेकेन्ड लामो उनको सम्बोधन यस्तो थियो-




कसरी मारिए ?
पाकिस्तानी अधिकारीहरुलाई उद्‍धृत गर्दै अमेरिकी समाचार एजेन्सी एपीले जनाए अनुसार पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा रहेको अब्बोत्ताबादको बिलाल क्षेत्रमा चार वटा हेलिकप्टरले हवाई आक्रमण गरेको थियो। आक्रमणपछि छापा मारेर त्यहाँ रहेका महिला र बालबालिकाहरुलाई हिरासतमा लिइएको छ। 

एउटा सानो अमेरिकी समूहले उनी रहेको घरमा आक्रमण गरेको थियो। घरमा अमेरिकी समूह ४० मिनेटसम्म रहेका थिए। लादेनले प्रत्याक्रमण गरेका भए पनि अमेरिकी कोही हताहत नभएको बताइएको छ। सीएनएनका अनुसार छापा मार्ने क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भएको थियो। 

एएफपीका अनुसार आक्रमणका क्रममा बिन लादेनसहित चार जना मारिएका छन्। तीन जना पुरुष हुन् भने मानव ढालका रुपमा प्रयोग गरिएकी एक महिला पनि मारिएकी छिन्। 

कस्तो थियो त्यो घर ?
बिन लादेन मारिएको घर पाकिस्तानको अब्बोत्ताबादमा छ। यो तीन तला अग्लो छ। वरपरका घरहरुभन्दा यो आठ गुणा अग्लो छ। गुप्तचरहरुले यसअघि नै त्यो घर वरपर १८ फिट अग्लो पर्खालहरु भएको र त्यसको माथि काँडेतार लगाइएको बताएका थिए। उनीहरुका अनुसार त्यहाँ दुई सुरक्षा गेट थिए र कुनै फोन र इन्टरनेट थिएनन्। 

के गरिन्छ लादेनको शवलाई ?
बिन लादेनको मृत्युको खबर सार्वजनिक भए पनि उनको शव भने यो समाचार तयार पार्दासम्म सार्वजनिक गरिसकिएको छैन। रोयटर्सका अनुसार अमेरिकी अधिकारीहरुले लादेनको शवलाई  इस्लामिक परम्परा अनुसार व्यवहार गरिने बताएका छन्। 






कसले के भने ?

न्याय गरिएको छ
अमेरिकी राष्ट्रपति ओबामा, राष्ट्रका नाममा सम्बोधन गर्दै

यो गौरवशाली उपलब्धि हो। आतंकवादविरुद्धको संघर्ष जारी छ तर आज राति अमेरिकाले एउटा गल्ती नहुने सन्देश दिएको छ- समय जतिसुकै लागे पनि न्याय गरिन्छ।
अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुस

यो समाचारले विश्वलाई ठूलो राहत दिनेछ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन

आतंकवादविरुद्ध संघर्ष गरिरहेका प्रजातान्त्रिक देशहरुका लागि बिन लादेनको मृत्यु एउटा ठूलो विजय हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू

इस्लामावाद नजिकै बिन लादेन मारिनुले पाकिस्तानले आतंकवादीहरुलाई संरक्षण दिन्छ भन्ने चासोलाई उजागर गरेको छ।
भारतीय गृहमन्त्री पी चिदम्बरम, एएफपीसित
 
लादेनको फोटोले संसार झुक्किँदा...

भर्खरै अनुजा प्रकरणमा कान्तिपुरले गल्ती समाचार छापियो भनी इमान्दार भएर क्षमा माग्दा पनि केहीले उसको खेदो खनेको खन्यै गरे। मैले त्यतिबेलै पनि भनेको थिएँ, विश्व पत्रकारिता इतिहासमा यस्ता थुप्रै गल्ती पहिले पनि भएका थिए। पाठकप्रति इमान्दार भएर क्षमा माग्नु ठूलो साहसको काम हो र यसका लागि ‘कान्तिपुर’को प्रशंसा गर्नुपर्छ। नभन्दै आज फेरि एउटा त्यस्तै गल्ती विश्वका प्रख्यात मिडियाले गरे।
घटना- बिन लादेनको मृत्यु। अमेरिकी राष्ट्रपति आफैले उनको मृत्युको औपचारिक घोषणा गरे। त्योभन्दा ठूलो प्रमाण अरु के हुन सक्थ्यो र। तर केही मिडियालाई त्यतिले चित्त बुझेन। उनीहरुले बिन लादेनको भनेर एउटा फोटो पनि समाचारसँगै प्रयोग गरे, जुन पछि थाहा भयो- साँचो हैन रहेछ। सुरुमा पाकिस्तानको ‘एक्सप्रेस न्युज’ले प्रसारण गरेको भन्दै यो फोटो आएको थियो। पछि विश्वका केही नाम चलेका मिडियाले पनि त्यसलाई प्रयोग गरे। हेर्नुस् केही उदाहरण-

स्पेनको एउटा मिडियाले भने ओसामाको नामै हतारमा ओबामा लेख्‍न पुगेछ।
डेली मेलले प्रयोग गरेको फोटो-
मिररले प्रयोग गरेको फोटो-
दि सनले प्रयोग गरेको फोटो-
टेलिग्राफले प्रयोग गरेको फोटो-
केही नेपाली टेलिभिजनले पनि यो फोटो प्रयोग गरेका थिए। हतार-हतारमा सत्य नै नबुझी उनीहरुले यो फोटो प्रयोग त गरे, तर केही समयपछि नै पुष्टि भयो, यो फोटो त इन्टरनेटमा ३ वर्षअघिदेखि नै छ्याप्छ्याप्ती भेटिने फोटो रहेछ। नपत्याए यहाँ क्लिक गरी हेर्नुस्।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले पनि यो फोटो सबैतिर बाँडेको थियो। तर पछि नक्कली भन्ने थाहा पाएपछि यस्तो सूचना जारी गरेको थियो-
वास्तवमा यो फोटो रोयटर्सले जारी गरेको लादेनको पुरानो फाइल फोटोलाई फोटोसपबाट चलाएर बनाइएको नक्कली फोटो थियो। नपत्याए यहाँ क्लिक गरी हेर्नुस् दुई वटा फोटो।
दायाँको फोटो र बायाँको फोटो दुवैमा किन लादेनको हाँसेको हाँस्यै ?
दाह्री किन मिलेको ?
नक्कली फोटोमा अरु धेरै कुरा मिलेको छैन, ध्यान दिएर हेरे थाहा हुन्छ।
वास्तवमा यो बिन लादेनको पुरानो फोटो र एक लाशको फोटो मिलाएर बनाइएको फोटो रहेछ। प्रमाणका लागि यहाँ क्लिक गर्नुस्।
र, यो फोटो गलत रहेको प्रमाणसहित खुलासा भएको थियो ट्विटरबाट। ट्विटरमा भएको खुलासापछि यी मिडियाले यो फोटो हटाएका थिए।
साँच्चैको फोटो नि ? एनबीसीले एक अमेरिकी अधिकारीलाई उद्‍धृत गर्दै जनाए अनुसार उनीहरुसित साँच्चैको फोटो पनि छ। तर त्यसलाई सार्वजनिक गर्ने कि नगर्ने भन्ने निर्णय हुन बाँकी छ। टाउकोमा गोली लागेका भनिएका लादेनको फोटो ज्यादै डरलाग्दो छ रे।
लस एन्जलस टाइम्सका अनुसार पनि आक्रमणका क्रममा उनको अनुहारको फोटो विश्लेषकहरुलाई पठाइएको रहेछ। उनीहरुले लादेनै हो भनी प्रमाणित गरेका रहेछन्। अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरुले बिन लादेनको शवको फोटो आफूहरुसित रहेको तर इन्टरनेटमा फैलिएका फोटो नक्कली हुन् भनी भनेका छन्। यस्ता खालका विशेष अपरेसन गर्दा हेल्मेटमा मिनी क्यामेरा राखेर गरिने भएकोले भिडियो पनि रहेको बताइएको छ। अहिलेलाई लादेन मारिएको भिडियो सार्वजनिक भएको छैन। तर घटनास्थलमा आक्रमणपछि देखिएका दृश्यको केही भिडियो एबीसी न्युजले प्रसारण गरेको छ। त्यसको फोटो-भिडियो हेर्नुस्-