Saturday, June 30

सबैभन्दा धनी डन को ?

प्रहरी स्रोतका अनुसार सबैभन्दा धेरै दीपक मनाङे र गणेश लामाको सम्पत्ति देखिएको छ । प्रहरी स्रोतका अनुसार मनाङेले एक दर्जन व्यवसाय गर्दै आएका छन् । जसमा ठमेलमा कवाडी व्यापारदेखि वीरगन्जमा ट्रान्सपोर्टको व्यवसायसमेत छ ।
ठमेलस्थित सेफस्टार होटलमा उनको ५६ करोड लगानी छ । सो होटलसमेत उनकै नाममा छ । त्यसैगरी, नुवाकोटको ककनीमा उनले ७८ रोपनी जग्गा श्रीमती पासाङ डोमा गुरुङको नाममा खरिद गरेका छन् । ९० लाखमा खरिद गरेको सो जग्गाको मूल्य हाल दुई करोडभन्दा बढी पर्ने बताइन्छ ।

त्यस्तै फेवा, गामबेसी, पोखरा दोहोरी साँझमा पनि उनको लगानी छ । फेवाबाट मासिक ४० हजार, गामबेसीबाट २५ हजार र पोखरा दोहोरीबाट १५ हजार आम्दानी गर्ने स्रोत बताउँछ ।
त्यस्तै ललितपुरको नमस्ते सुपरमार्केटअगाडि रहेको एक पसलमा पनि उनको लगानी रहेको छ । हेटौंडामा क्रसर उद्योग र नवलपरासीमा जडीबुटी उद्योगमा पनि उनको लगानी छ ।
नुवाकोटको रानीपौवामा भएको ढुंगाखानीमा पनि उनको लगानी रहेको बताइन्छ । राजधानीका पुराना डनका रूपमा चिनिने मनाङे संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्षसमेत छन् ।
त्यस्तै, उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारनिकट डन गणेश लामाको धेरै सम्पत्ति रहेको प्रहरी स्रोत बताउँछ । 'क' वर्गको सिरुवा कन्स्ट्रक्सन नामक कम्पनीका मालिक उनको अन्य व्यवसाय भनेको क्रसर उद्योग हो । मेलम्ची क्रसर उद्योग पनि उनले सञ्चालन गरेका छन् ।
ठमेलका एक दर्जन रेस्टुरेन्टमा उनको सेयर रहेको स्रोत बताउँछ । दुबईमा ज्वाला रेस्टुरेन्टमा उनको १३ करोड लगानी रहेको प्रहरी स्रोतका भनाइ छ । दुई करोड पर्ने दुईवटा एस्काभेटर, ३८ लाख पर्ने लोडर, एक करोड पर्ने पाँचवटा टाटा गाडी, मिक्सरलगायतका सवारीसाधन पनि उनीसँग छन् ।
व्यक्तिगत प्रयोजनका लागि भने उनी प्राडो र सेफर कार प्रयोग गर्छन् । मेट्रो फाइनान्समा अन्दाजी तीन करोड रुपैयाँको उनको सेयर छ । लामाले मासिक २० देखि २५ लाख कमाउने गरेको प्रहरीको आँकलन छ । हाल कमलपोखरी-रातोपुल सडकको निर्माणको ठेक्का पनि उनले पाएका छन् । पछिल्लो समयमा उनले क्यासिनोमा पनि लगानी गरेका छन् । उनको तिनकुने र पुरानो बानेश्वर भीमसेनगोलामा घर छ ।
राजधानीका अर्का डन कुमार घैँटे अर्थात् कुमार श्रेष्ठको सामाखुसीमा दुईतले घर छ । उनी सिंगापुरबाट फोटोकपी मेसिन आयात गर्छन् । सिमि्रक इन्टरनेसनल प्रालि कम्पनीबाट उनले व्यापार गर्दै आएका छन् ।
म्हेपी निर्माण सेवामा उनको २५ प्रतिशत सेयर छ । टोखाको बालुवाखानी उनले चलाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । जेलमा रहेका पुराना डन चक्रे मिलन अर्थात् -मिलन गुरुङ) को नाममा भने प्रहरीले केही जग्गाबाहेक खासै सम्पत्ति भेट्टाउन सकेको छैन । खासगरी उनले हप्ता असुलीबाट पैसा कमाउँदै आएका छन् । उनी चक्रपथ क्षेत्रका मेनपावर, बालुवाखानी, जग्गा प्लटिङ र रेस्टुरेन्ट व्यवसायीबाट पैसा असुलीमा आफ्ना सहयोगीलाई परिचालन गरी आफ्नो धन्दा चलाउँदै आएका छन् । हिमालयन स्नुकर क्लब चक्रेले सञ्चालन गर्दै आएका छन् ।
६ महिनाअघि मात्र कर्तव्य ज्यान मुद्दामा छुटेका राजु गोर्खाली पनि धनी डनकै रूपमा चिनिन्छन् । कपडा व्यापार, मुलपानीमा बालुवाखानी, कार्पेट व्यवसाय उनी गर्छन् । चाबहिलमा एकैठाउँमा उनका तीनवटा घर छन् । जेलबाट छुटेपछि कांग्रेस नेताहरूसँग पुरानो सम्बन्ध सुरु गरेर उनी राजनीतिमा लाग्ने तयारीमा छन् ।
राजधानीमा सक्रिय अर्का डन दिनेश अधिकारी 'चरी'का नाममा भने प्रहरीले खासै सम्पत्ति फेला पारेको छैन । धादिङमा रहेको उनको जग्गा र जिमहल उनले सञ्चालन गरेका छन् ।
स्रोतका अनुसार उनले एक करोडभन्दा बढी क्यासिनोमा जुवा खेलेर सिध्याएका छन् । क्यासिनोमै जुवाडेहरूलाई लगानी गरेर उनले लाखौँ कमाएका थिए । भेनस क्यासिनोका बाउन्सरसमेत रहेका उनको गाडी प्रहरीले पत्ता लगाएको छ । अन्य खासै सम्पत्ति नभेटिएको स्रोत बताउँछ ।
त्यस्तै चक्रेका भाइ तेजेन्द्र गुरुङ, दोलखाका मनराज गुरुङ, उमेश गुरुङको पनि गाडी कारोबार र केही रेस्टुरेन्टमा लगानीबाहेक प्रहरीले अन्य सम्पत्ति भेटेको छैन । मनराज र उमेशले भने दोलखाका जलविद्युत् आयोजनामा समेत लगानी गरेका छन् ।
त्यसै साजन महर्जन र बाघेको निर्माणसम्बन्धी होलसेल पसल छ । सुन्धाराका डनका रूपमा चिनिने पूर्ण गुरुङको रेस्टुरेन्टहरूमा लगानी छ ।
प्रहरीले 'ए' वर्गकै डनमा राखेका रोज राणाको लगानी भने चलचित्र निर्माणमा छ । उनको डान्सबारहरूमा समेत लगानी रहेको स्रोत बताउँछ । तरुण दलको सांस्कृतिक विभागका केन्द्रीय सदस्य रहेका उनलाई चलचित्र विकास बोर्डमा नियुक्तिका लागि निर्माता संघले सिफारिस गरेको छ ।
समीरसिंह बस्नेत, प्रवेश श्रेष्ठ, माइला भनिने वीरबहादुर स्याङताङ, ललितपुरका मीनकृष्ण महर्जन, भक्तपुरका साजन महर्जनलगायतको पनि सम्पत्ति छानबिनको दायरामा छ ।
मोस्ट वान्टेड डन रमेश बाहुन -सुजन पौडेल) ले पनि करोडौँ कमाइसकेको प्रहरी अधिकारीहरू बताउँछन् । तर, रामेछापको पुख्र्याैलीबाहेक प्रहरीले उनको सम्पत्तिबारे पत्ता लगाउन सकेको छैन ।
विराटनगरका गुण्डागर्दीका नाइकेद्वय परशुराम बस्नेत र अभिषेक गिरीको पनि करोडौँ सम्पत्ति भेटिएको सिआइबी स्रोत बताउँछ । बस्नेतको करोडौँ सम्पत्ति यातायात क्षेत्रमा छ । त्यसैगरी विराटनगरमा रहेको घर र जग्गा पनि प्रहरीले रोक्का गरेको छ ।
झुम्का कारागारमा रहेका डन अभिषेक गिरीको पनि विराटनगरमा घरजग्गालगायतको सम्पत्ति भेटिएको छ । जेलमा रहेका वेला पनि गिरी सहयोगीहरू परिचालन गरी जेलबाटै रकम असुल्ने गर्दथे ।
प्रहरीले कतिपयको सम्पत्ति रोक्कासमेत सुरु गरिसकेको छ । तर, डनहरू राजनीतिक संरक्षणमा रहेकाले उनीहरूविरुद्ध मुद्दा दायर हुनेमा भने कतिपयले शंकाको दृष्टिले हेरेका छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस