Monday, March 5

'राजावादीको सहयोगमा' बबरमहल विस्फोट


काठमाडौं, फागुन २२ -'केही राजावादीको आर्थिक सहयोग र उक्साहटमा' संयुक्त जातीय मुक्ति मोर्चाले बबरमहल विस्फोट गराएको निस्कर्ष प्रहरी अनुसन्धान समितिले निकालेको छ। निक्षेशम्शेर राणाको नेतृत्वमा रहेको राष्ट्रिय एकता परिषद्का केही पदाधिकारी र पञ्चायतकालीन पृष्ठभूमिका दरबारनिकट केही व्यक्तिले उक्त मोर्चालाई आर्थिक सहयोग गर्ने गरेको फेला परेको प्रहरी स्रोतले जनाएको छ।



प्रहरी अनुसन्धानसँग निकट स्रोतका अनुसार ती व्यक्तिले विस्फोटअगाडि मुख्य योजनाकार देवराज लामा भनिने 'विश्वक्रान्ति'सँग नियमित टेलिफोन सम्पर्क गर्ने गरेको पाइएको छ।
प्रहरीले विस्फोटमा संलग्न भनिएका ६ जनालाई शनिबार पक्राउ गरेको छ भने मुख्य योजनाकार विश्वक्रान्तिसहित तीन जना फरार छन्। पक्राउ परेकामध्ये दुई जना पूर्व माओवादी छन् भने विश्वक्रान्तिलाई सहयोग गर्नेमा माओवादीका अयोग्य लडाकु, प्रहरी र सेनाका भगौडा छन्।
प्रहरीको अनुसन्धान समितिले आइतबार पत्रकार सम्मेलन गर्दा बबरमहल विस्फोट 'संक्रमणकालीन अवस्थाको फाइदा उठाउन सक्रिय समूहको उक्साहट'मा उक्त मोर्चाले गरेको औपचारिक निस्कर्ष दिएको थियो।
घटनामा संलग्न भनिएकामध्ये ६ जना अभियुक्तलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा सार्वजनिक गर्दै उनीहरूको वयान र गुप्तचरी सूचनाका आधारमा उक्त निस्कर्ष निकालिएको समितिका प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालले बताएका थिए।
प्रहरीले घटनामा संलग्न नुवाकोट ओखरपौवाका ३५ वर्षिय भीमबहादुर तामाङ, रामेछाप दर्गाका ३० वर्षिय निमा दोर्जे तामाङ, हेटौडा पदमपोखरीका ६० वर्षिय बुद्धिबहादुर गोले, धादिङ छत्रे देउरालीका २८ वर्षिय प्रेम तामाङ, नौविसे धुसेनीका २० वर्षिय सागर लामा र तसरपुर धादिङका २० वर्षिय सुरेश लामालाई शनिबार विभिन्न ठाउँबाट पक्रेको थियो।
भीमबहादुर ०५६ सालदेखि माओवादीमा लागेको, ०५८ सालदेखि भूमिगत हुन थालेको, जिल्ला समिति सदस्य समेत भएको र ०६३ मा पार्टी कारबाहीमा परेपछि मोर्चामा लागेको देखिएको छ।
उनीहरूको साथबाट बरामद भएको भनिएका १० वटा जिलेटिनको लोला, बमका लागि प्रयोग गर्न तयारी अवस्थामा राखिएको प्रेसर कुकर, बममा प्रयोग गरिने जिआइ पाईपका टुक्रा र तारसहित मोर्चाका अवधारणापत्र समेत सार्वजनिक गरिएको थियो।
अनुसन्धान अधिकृतहरू विष्फोटपछि झापा क्षेत्रमा सक्रिय देखिएका उनी त्यसपछि भारत प्रवेश गरेको अनुमान गर्छन्।
समितिका संयोजक तथा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख अर्यालले भने, 'विष्फोटको घटनापछि मोर्चाको नाममा चन्दा रकम संकलन सहज हुने र उपत्यकाको मुख्य स्थानमा बम पड्काउँदा आतंक समेत मच्चिने निस्कर्षसहित मोर्चाका अध्यक्ष विश्वक्रान्ति भनिने देवराज लामाले घटनाको योजना बनाए।'
'सार्वजनिक स्थानमा बम राखेर आतंक मच्याउने र बढी चन्दा संकलन गर्न बम पड्काएको देखियो,' अर्यालले भने, 'राजनीतिक संक्रमणकालको फाइदा उठाउन सक्रिय समूहले समेत उनीहरूलाई उपयोग गरेको देखिन्छ।'
अनुसन्धानको दोस्रो चरणमा मात्र उक्त 'समूह' बारे सार्वजनिक गर्ने उनले जनाए।
राजतन्त्रका पक्षमा सक्रिय केही व्यक्ति र विश्वक्रान्तिबीच सम्पर्क रहेको विवरण फेला पारिएको अनुसन्धान स्रोतले दाबी गरेको छ। 'फोन सम्पर्ककै आधारमा उनीहरूको संलग्नता पूष्टि गर्न सकिएन,' एक अधिकृतले भने, 'फरार रहेका केही प्रमुख व्यक्ति पक्राउ परेपछि यसको पूष्टि हुनेछ।'
विस्फोटलगत्तै मोर्चाको एक समूहले आफ्नो संलग्नता नरहेको र त्यसको जिम्मेवारी लिने 'विश्वक्रान्ति'लाई पार्टीले कारबाही गरिसकेको वक्तव्य जारी गरेको थियो। अनुसन्धान समिति भने त्यसलाई मोर्चाको चलाखीमात्र भन्ने निस्कर्षमा पुगेको छ।
घटना मोर्चाकै योजनाअनुसार भएको र प्रहरी अनुसन्धानलाई अल्मल्याउनमात्र विभाजनको नाटक गरेको देखिएको डिआइजी अर्यालले बताए। पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका अभियुक्तहरूले भने आफूहरू मोर्चामा संलग्न रहे पनि विस्फोटमा सामेल नभएको र प्रहरीले बरामद गरेका विस्फोटक पदार्थ आफ्ना नभएको दाबी गरे।
घटनालगत्तै गृह मन्त्रालयले अर्यालको संयोजकत्वमा एसएसपी देवेन्द्र सुवेदी तथा केदारमानसिह भन्डारी र एसपी सुबोध घिमिरेको रहेको अनुसन्धान समिति गठन गरेको थियो।
टोलीले अनुसन्धानका लागी व्युरो सहित महानगरीय प्रहरी अपराध महाशाखा, प्रतिआतंकवाद निर्देशनालयका प्रहरी जनशक्ति मिलाएर ५० जनाको विशेष टोली परिचालन गरेको थियो।
समितिले अनुसन्धानलाई 'अप्रेशन निगम' नामकरण गरेर सूचना संकलन, मोर्चाका पदाधिकारीहरूको सम्पर्क जालो र विस्लेषणका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको थियो।

कपनमा बन्यो योजना
अनुसन्धान समितिको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार विश्वक्रान्ति आफैंले विस्फोटको योजना बनाएका थिए। कपनस्थित ससुरालीमा बस्दै आएका उनी विस्फोट भन्दा दुई दिनअघिसम्म काठमाडौंमै थिए।
कपनको एक 'भट्टी'मा सहयोगीसहित बसेर उनले 'काठमाडौंमा बम नपड्काएसम्म पैसा जम्मा गर्न नसकिने भइयो' भन्दै विस्फोटको योजना बनाएका थिए। त्यतिबेला उनीसँग प्रेम, सुरेश र सागरसँगै थिए।
भीमबहादुर २०६६ सालमा नुवाकोटका पाण्डु लामा हत्याका फरार अभियुक्तसमेत हुन्। माओवादीका जिल्ला समिति सदस्य रहिसकेका उनी माओवादी छाडेर मोर्चाको केन्द्रीय सदस्य बनेका थिए।
आविश्कार तामाङ समेत भनिने निमादोर्जे एलाइन्स एकेडेमी कलेजका अनुशासन प्रमुखका रुपमा कार्यरत थिए। उनी पनि त्यसअघि माओवादीमै थिए। बुद्धिबहादुर शान्तिनगरस्थित बबिता बास गार्मेन्टमा कार्यरत थिए। उनले मोर्चाका केन्द्रिय सदस्य समेत रहेका प्रेम सागरलाई सहयोगीका रुपमा परिचालन गरेका थिए। सुरेश बुद्धिसँगै गार्मेन्टमा कार्यरत थिए।
सरकारसँग शान्ति वार्ता थालेपछि व्यापारीहरूले टेर्न छाडेको भन्दै उनीहरूले आतंक फैलाउन विस्फोट गराएको प्रहरीको ठहर छ।
उनीहरूले विस्फोटका लागि सरकारी भवन वा भिडभाड हुने सहरका मुख्य केन्द्र छानेका थिए। इन्धनको मूल्य बृद्धिप्रति विद्यार्थीहरू असन्तुष्ट भएको मौका छोपी नेपाल आयल निगमको मुख्यालयलाई निशाना बनाउँदा 'आतंकको लाभ' हुने उक्त समूहले ठान्यो।
प्रहरी प्रतिवेदनअनुसार विश्वदीप भनिने भीमबहादुरले विस्फोटको योजना बनाउन सहयोग गरेका थिए। विश्वक्रान्तिले निमालाई समेत परिचालन गरेका थिए।
निमा र भीमबहादुरले योजनामा बुद्धिबहादुर गोलेलाई प्रयोग गरेका थिए। गोलेले प्रेम तामाङ, सुरेश लामा र सागर लामालाई परिचालन गरेका थिए।
प्रतिवेदनअनुसार माघ २४ गतेबाटै बम पड्काउने सम्भावित स्थानहरूबारे बुझ्न बुद्धिबहादुर खटिएका थिए। उनीहरूले १० दिनअघि विस्फोटका लागि बबरमहल रोजेका थिए।
भीमबहादुर र निमा मिलेर विष्फोट गराउने स्थानको चयन, विस्फोटक पदार्थ खोज्ने र बम बनाउने कामका लागि बुद्धिबहादुरलाई छानेका थिए। गोलेले सहयोगीका रुपमा प्रेम, सुरेश र सागरलाई रोजेका थिए।
डिआइजी अर्यालका अनुसार प्रेम, सुरेश र सागरले स्थानको छनौट गर्ने, बम बनाउने र बम राख्ने काम गरेका थिए।

एक घन्टाअगाडि बम
प्रहरी प्रतिवेदनअनुसार घटनाको दिन बिहान नौ बजे सुरेश, सागर र प्रेम बानेश्वर र अनामनगर क्षेत्रमा बसेका थिए। उनीहरूले राधा कम्प्लेक्समा बसेर भावी घटनास्थल अवलोकन गरे।
विस्फोट भएको एक घन्टाअघि उनीहरूले निगमअगाडि 'टाइम डिले मेकानिज्म' सहितको विस्फोटक पदार्थ लगेर राखेका थिए। पैदलै आएर कपडाले बेरिएको बम निगमअगाडि राखेर बबर महल हुँदै बानेश्वर गए। 'विभिन्न टेलिभिजनमा फोन गर्दा प्रयोग गरेको विश्वक्रान्तिको नम्बरै प्रहरीको प्रारम्भिक अनुसन्धान बिन्दु थियो,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, 'तर, यसमा टेलिफोन सम्पर्क जालो भन्दा पनि गुप्तचरीमा आधारित सूचना संकलनले महत्वपूर्ण भूमिका खेल्यो।'
ती अधिकृतका अनुसार विस्फोटलगत्तै विश्वक्रान्तिले भीमबहादुरलाई फोन गरेर 'सुरक्षित हुनू है' भनेका थिए। भीमबहादुरले पनि अरुलाई त्यसै भनेर फोन गरे।
विस्फोटपछि पनि उनीहरूले विभिन्न जग्गा कारोबारी र म्यानपावर व्यवसायीलाई मोर्चाको नाममा ५० लाखसम्म पैसा मागिरहे।
पक्राउ परेकामध्ये सुरेश र प्रेमले मात्र केही मुख खोलेका छन्, अरूले भने ओठ बन्दै राखेको प्रहरीले जनाएको छ। वयानमा उनीहरूले त्रास फैलाउन मात्र बम पड्काएको, मानवीय क्षतिको योजना नभएको बताएका छन् तर डिआइजी अर्यालका अनुसार उनीहरूले मानवीय क्षतिकै लागि सर्वसाधारणको चहलपहल हुने ठाउँ रोजेका थिए।
अर्यालका अनुसार उपत्यकामा अर्को विस्फोट गराउने गरी विस्फोटक पदार्थ जम्मा गरिरहेको बेला उनीहरू पक्राउ परेका थिए।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस