Friday, January 13

भलिबलमा नयाँ विजेता

            तनाव र विवादबीच बिहीबार नेपाल पुलिस क्लब ढोरपाटन 'ब्लु स्काई कप' महिला डबल लिग भलिबलको नयाँ विजेता बनेको छ । उसलाई सातौं संस्करणको उपाधि जित्न अन्तिम खेलमा पाएको सफलताले मात्र नपुगी गणितीय समीकरण आवश्यक पर्‍यो ।
लिगको समाप्तिसम्म पुलिस र पोखरेली टिम ज्ञानुबाबाको समान २७ अंक भएपछि औसतका आधारमा विजेताको छिनोफानो भएको हो । जितसँगै पुलिसले ज्ञानुबाबाको लगातार छैटौंपल्ट उपाधि जित्ने सपना पूरा हुन दिएन । पुलिसले २ लाख  २० हजार रुपैयाँ हात पार्‍यो भने ज्ञानुबाबाले १ लाख १० हजार रुपैयाँमा चित्त बुझायो ।
 
महिला लिग सुरु भएदेखि नै ज्ञानुबाबाले एकल वर्चस्व राख्दै आएको थियो । प्रतियोगिताको पहिलो संस्करणमा भने महिलाको खेल समावेश थिएन । अघिल्लो दिन बुधबार ३ सेट समाप्तिमा खराब प्रकाशका कारण खेल स्थगित भएको थियो । त्यसमा ज्ञानुबाबा २-१ ले अगाडि थियो । बिहीबार खेल सुरुकै अवस्थाबाट खेलाइएको हो ।
अन्तिम खेलमा जित हात पारे पनि पुलिसले आफू च्याम्पियन भएको जानकारी पाउन दुई घन्टा बढी कुर्नु पर्‍यो । लिगको समाप्तिसम्म दुवै टिमको समान २७ अंक भएपछि आयोजकले औसत अंक पत्ता लगाउन धेरै समय खर्चे । पहिले समान अंक भएमा सेटका आधारमा निर्णय गरिने जानकारी दिएको आयोजकले औसतका आधारमा विजेता चयन गरिने बताएको थियो । लिगमा समान १४ खेल खेलेका पुलिस र ज्ञानुबाबाले एकापसमा पराजय बेहोरेका थिए ।
पहिलो लेगमा ज्ञानुबाबासँग पराजित पुलिसले दोस्रो लेगमा भने सुधारिएको प्रदर्शन गरेको थियो । १४  खेलमा १ हजार ७४ अंक लिंदै ६ सय २० अंक दिएको उसको औसत अंक १ दशमलव ६ सय ३२ रह्यो । ज्ञानुबाबाले १ हजार ८२ अंक लियो भने ६ सय ५२ अंक दियो । उसको औसत १ दशमलव ६ सय ५९ अंक रहेको आयोजकले जनाएको छ ।
जितसँगै पुलिस लिगको पहिलो लेग र पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय भलिबलको फाइनलमा पाएको पराजयको बदला पनि लिन सफल भयो । तर पुलिसको जितमा विपक्षी टिम भने सहमत हुन सकेन । उपविजेता टिम प्रतियोगिताको विजेता घोषणा हुनुअघि नै खेलस्थल छोड्यो । ज्ञानुबाबाकी टिम व्यवस्थापक शुभकन्या गुरुङले पहिले सेटका आधारमा निर्णय गरिने भनिए पनि पछि औसतका आधारमा चयन गरिएकोमा आपत्ति जनाइन् । ज्ञानुबाबाले पुलिसले भन्दा एकसेट बढी जितेको छ ।
प्रतिस्पर्धात्मक पहिलो सेट २५-२३ ले जितेको पुलिस दोस्रोमा २५-१४ ले अगाडि रह्यो । तेस्रोमा ज्ञानुबाबाकी कप्तान मञ्जु गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै २५-१९ ले खेल आफ्नो पक्षमा पारिन् । चौथोमा पुलिसले २५-२३ को सफलता हात पार्दै स्पष्ट दुई अंक हासिल गर्‍यो ।
'धेरै खेलाडी चोटग्रस्त भएकाले सोचेअनुरूप खेल्न सकेनौं,' पराजित टिमकी कप्तान मञ्जुले भनिन्, 'हिजो नै पूरा इफोर्ट लगाएर खेलेका थियौं । तर हामी २-१ ले अघि रहेको अवस्थामा खेल स्थगित भयो ।' उनले अघिल्लो दिन खेल स्थगित गर्दा आफ्नो टिमलाई नसोधिएको गुनासो पनि गरिन् ।
विजयी पुलिसका सहायक प्रशिक्षक रुपेश विष्टले भने पहिलो लेग र पोखराको हारको बदला लिन सफल भएकामा खुसी व्यक्त गरे । 'आज सबैले उच्च मनोबलसाथ राम्रो खेले,' विष्टले भने, 'ब्लक राम्रो भयो र विपक्षी टिमका स्पाइकरले खुलेर खेल्न सकेनन् ।' उनले पहिलो लेगभन्दा दोस्रोमा सुधारिएको प्रदर्शन गरेको धारणा राखे ।
तीन स्कुटर प्रदान
आयोजकले दुई टीभीएस स्कुटर प्रदान गर्ने जानकारी दिए पनि अन्तिम दिन अर्को एक थपेर तीन पुर्‍यायो । दर्शकको मतका आधारमा उत्कृष्ट भएकी न्यु डायमण्डकी रमिला तण्डुकारले एउटा टीभीएस स्कुटर पाइन् । उनले कुल २ हजार ५ सय ३ मत हासिल गरिन् । त्यस्तै, वर्षभरिको प्रदर्शनलाई आधार मानेर घोषणा गरिएको ढोरपाटन प्लेयर अफ द एयरको उपाधि पुलिसकी चुडा खड्काले हात पारिन् । ढोरपाटन स्पोटर््स क्लबका अध्यक्ष मनवीर छन्त्यालले पुरस्कार वितरणका क्रममा प्लेयर अफ द सिरिज ज्ञानुबाबाकी मञ्जुलाई पनि स्कुटर प्रदान गरिएको जानकारी दिए ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस