Wednesday, September 21

नब्बे सालयताकै ठूलो भूकम्प (तस्बीरहरु सहित )


२०६८ असोज २- आइतबार साँझ ६ बजेर २५ मिनेट जाँदा गएको ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भुइँचालोमा परेर काठमाडौंमा तीन र धरानमा दुईजनाको ज्यान गएको छ। उपत्यकाभित्र कम्तीमा १९ घर भत्किएका छन् भने ५१ जना घाइते भएका छन्। नेपालको उपल्लो ताप्लेजुङ केन्द्रविन्दु रहेको यो भुइँचालोलाई राष्ट्रिय भूकम्प मापन केन्द्रले '९० सालयताकै शक्तिशाली' भनेको छ। भुइँचालोको झट्का करिब ३० सेकेन्डको थियो।


भुइँचालोले राजधानीको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किँदा तीनजनाको मृत्यु भयो। मृत्यु हुनेमा ८ वर्षे बालिका अनुजा श्रेष्ठ, उनका बुबा ३६ वर्षे साजन श्रेष्ठ र सिन्धुलीका वीरबहादुर माझी छन्।
बाबु र छोरी बा९प २६४७ नम्बरको स्कुटरमा गइरहेका बेला दूतावासको नौ फिट अग्लो पर्खाल भत्किएर थिचेको थियो। अर्का बटुवा माझी त्यसैमा परेका हुन्। पर्खालको करिब डेढ सय मिटर ढलेर सडकमा हिँडिरहेका घाइते भएका थिए।
भत्किएको पर्खालमुनि तीनैजनाको आधा शरीर छोपिएको थियो। उनीहरूको टाउकोमा गम्भीर चोट लागेको घटनाका प्रत्यक्षदर्शी ज्ञानेन्द्र घिमिरेले जानकारी दिए।
'पर्खाल ढलेर मान्छे किचेको देखेपछि मैले उनीहरूको मुटुको ढुकढुकी छामेँ,' सेनाको गणेश दलका सिपाही घिमिरेले भने, 'बच्ची र उनीसँगै रहेका व्यक्तिको मुटु चलिरहेको थियो, नजिकै एम्बुलेन्स देखेपछि स्थानीयबासीले भग्नावशेषबाट झिकेर अस्पताल पठाए।'
पर्खालले सडक छोप्दा पनि दूतावास कर्मचारीले उद्धार गर्न नदिएको स्थानीयबासीको आरोप छ। 'पर्खाल ढलेर मान्छे किचेको छ भन्दा एम्बेसीका सुरक्षाकर्मीले 'तिमीहरू नआओ हामी आफैं गर्छौं' भन्दै फर्काएको एक प्रत्यक्षदर्शीले बताए। केही बेरमै नेपाली सेना र प्रहरी टोली आइपुग्यो।


टाउकोमा गम्भीर चोट लागेका तीनैजनालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा उपचार हुँदाहुँदै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
डेनिस सहयोग नियोग (डेनिडा) मा सुरक्षाकर्मीका रूपमा कार्यरत ३६ वर्षीय साजन डेराबाट फोहर फाल्न भनी माइली छोरीलाई स्कुटरमा लिएर हिँडेका थिए। गोरखा घर भएका उनी सामाखुसी बस्दै आएका थिए।
'उनको मोबाइलबाट गोरखा फोन गरेर घटनाको जानकारी दिएपछि श्रीमतीको नम्बर पाइयो,' प्रत्यक्षदर्शी घिमिरेले भने, 'अनि उनकी श्रीमती (माया श्रेष्ठ) लाई फोन गरेर जानकारी दिएँ।'
साजनकी जेठी छोरी र काखे कान्छी छोरी छन्। श्रीमान र छोरीको मृत्युको पीडा सहन नसकेर माया अस्पतालको आकस्मिक कक्षमै बेहोस भइन्। उनलाई आफन्तले सम्हाल्ने प्रयास गरिरहेका थिए।
माझीको भने पूर्ण जानकारी खुल्न सकेको छैन। अन्दाजी १९ वर्षका उनका आफन्त प्रहरीको सम्पर्कमा समेत आइपुगेका छैनन्।
पर्खाल ढल्दा सडकमा रहेको बा६च ६५० नम्बरको कारमा समेत क्षति पुगेको थियो। चालक सामान्य घाइते छन्। शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइते विनय श्रेष्ठको पर्खालले थिचेर खुट्टामा गम्भीर चोट लागेको डा.दिपेन्द्र पाठकले जानकारी दिए।

 १९ घर भत्किए, ५१ घाइते
गृह मन्त्रालयका सहसचिव तथा दैवी प्रकोप व्यवस्थापन महाशाखा प्रमुख शंकर कोइरालाले दिएको विवरणअनुसार उपत्यकामा भुइँचालोबाट १९ घर भत्किएका छन् भने ५१ जना घाइते भएका छन्। घाइते र भत्किएका घरको संख्या बढ्न सक्ने उनले बताए।

अधिकांश व्यक्ति भुइँचालो आएपछि आत्तिएर भाग्दा घाइते भएका हुन्। केही व्यक्ति घरको तीन तलाबाट समेत हाम फालेका थिए। महानगरीय प्रहरी आयुक्त कार्यालयका एसएसपी माधव नेपालका अनुसार आत्तिएर घरबाट हामफाल्दा मैतीदेवीमा २ जना घाइते भए। दुवैको खुट्टा भाँच्चिएको छ। घरबाट हामफाल्दा बुद्धनगरमा एकजना घाइते भएका छन्। सामाखुसीमा पनि तीनतलाबाट हामफाल्दा एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
भाग्ने क्रममा अचेत भएका दुईजना पाटन अस्पतालमा भर्ना भएका थिए। वीर अस्पतालमा उपचार गराउँदा-गराउँदै ‰याल फोडेर भाग्ने क्रममा हात काटिएर एकजना घाइते भए।

भुइँचालोपछि वीर अस्पतालमा १९, शिक्षण अस्पतालमा ८, पाटनमा दुई र अन्य निजी अस्पतालमा पाँचभन्दा बढी उपचार गराउन आएका थिए। आत्तिएर हुने 'न्युरोसक' अवस्थाका बिरामीमात्रै आधा दर्जनभन्दा बढी छन्। यस्ता बिरामी डरले बान्ता गर्ने र हातगोडा काम्ने हुन्छन्।
वीरमा आएका बिरामीमध्ये १२ पुरुष, ६ महिला र एक बच्चा रहेको आकस्मिक कक्षका दीपक मुडभरीले जानकाररी दिए। वीरले उचित व्यवस्थापन नहुँदा थप उपचार आवश्यक पर्ने बिरामीलाई 'भोलि आउनू' भन्दै फर्काएको छ।
प्रहरीका अनुसार सबभन्दा धेरै स्युचाटार क्षेत्रमा चार घर भत्किएका छन्। साँखुमा एउटा र पाटनमा एउटा घर पूरै क्षतिग्रस्त भएको छ।
केन्द्रीय कारागारस्थित गोलघरको गारो र छत चर्किए पनि अन्य कारागार र प्रहरी कार्यालय सुरक्षित रहेको आयुक्त कार्यालयले जनाएको छ। गोलघरको छत चर्किएकाले भुकम्पलगत्तै परेर पानी चुहिएको थियो।
भुइँचालो आउनासाथ राजधानीका सडक र खुला ठाउँमा सर्वसाधारणको भीड लागेको थियो। त्यतिखेर सडकमा सवारी साधन पनि बाक्लै भएकाले ट्राफिक आवागमन ठप्पप्रायः थियो। कसैको उद्धार गर्नुपरेको अवस्थामा एम्बुलेन्स र दमकलसमेत छिर्नसक्ने अवस्था थिएन।
उता ठमेलमा भुइँचालोलगत्तै पर्यटकहरू अत्तालिँदै होटल बाहिर र सडकमा भेला भएका थिए। लाजिम्पाटको पाँचतारे होटल सांग्रिलाले कोठामा बसिरहेका १ सय १० पर्यटकलाई तुरुन्तै बाहिर निकाल्यो। 'हामीले पर्यटकलाई नआत्तिनू भन्दै कोठाबाट बाहिर बगैंचामा ल्यायौं,' सांग्रिलाका वरिष्ठ महाप्रबन्धक राजुविक्रम शाहले भने, 'दस मिनेट बाहिर राखेपछि पर्यटकलाई भित्र पठायौं।'

सतर्क रहनू
भुइँचालोलगत्तै साँझ ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले क्षतिको विवरण संकलन गरी राहत सामग्री वितरण गर्न निर्देशन दिएको छ।
'मुलुकभर भएका क्षतिको विवरण संकलन गरी उनीहरूलाई राहत पुर्‍याउन गृह मन्त्रालय र सुरक्षा निकायलाई निर्देशन दिएका छौं,' बैठकपछि भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले भने, 'सम्भावित खतराबाट जोगिन राहत र उद्धारका सामाग्री तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ।'

                           तस्बिरहरु 











-
  उद्धारकर्मी र सर्बसाधारण भुकम्पले  लैनचौर स्थित  बेलायती दूतावास को पर्खाल भत्काएपछि हेर्दै.....यहाँ च्यापिएर ३ जनाको मृत्यु भएको थियो 



ज्यान जोगाउन भागौँः कांग्रेस नेता रामशरण महत हलबाट दौडेर बाहिर आउँदै। भूकम्प आउँदा प्रधानमन्त्री लगायत धेरै सभासद त्यहाँ भित्र थिए किनभने बजेट पास हुन लागेको थियो।

सभासदहरुको भागाभाग। फोटोहरु सौजन्यः दिनेश श्रेष्ठ/रासस

यही पर्खाल भत्कँदा काठमाडौँमा तीन जनाको मृत्यु भएको हो।

लैनचौरमा पर्खाल भत्किएर ज्यान गुमाएका साजन श्रेष्ठ अस्पतालको बेडमा। फोटो सौजन्यः रोयटर्स


















    














 
 





















No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस