Sunday, April 3

भारत ले जित्यो क्रिकेटको विश्वकप

कपका साथ खुसी मनाउँदै भारतीय खेलाडी।
 भारतले श्रीलंकालाई ६ विकेटले पराजित गरी २८ वर्षपछि विश्वकप क्रिकेट जितेको छ। सन् १९८३ यता भारतले पहिलोपटक विश्वकप उपाधि जितेको हो। भारतझैँ दोस्रोपटक उपाधि जित्ने आशामा रहेको श्रीलंका लगातार दोस्रो वर्ष उपविजेतामै सीमित भयो।

मुम्बईको वाङ्खडे रंगशालामा श्रीलंकाले बनाएको २७४-६ को स्कोरलाई आयोजक भारतले गौतम गम्भिरको ९७ र कप्तान महेन्द्रसिंह धोनीको अविजीत ९१ रनमा १० बलअगाडि नै २ सय ७७ रन बनाउँदै पूरा गरेको थियो। विश्वकपको १० संस्करणमा दोस्रोमा ब्याटिङ गरेर जितेको यो केवल तेस्रो अवसर हो। धोनीले श्रीलंकाली बलर नुवान कुलासेकारालाई लङअनमा छक्का प्रहार गरेपछि भारतीय खेलाडीहरूले मैदानमा दौडिएर विजय खुसी मनाए।
भारतीय खेलाडीले सचिन तेन्दुलकरलाई उचाल्दै विजय 'लिटिल मास्टर्स' प्रति समर्पित गरेका थिए। छैटौं विश्वकप खेलिरहेका तेन्दुलकरले पहिलोपटक विश्वकप ट्रफी चुम्ने मौका पाए। भारतीय प्रशिक्षक ग्यारी क्रिस्टेनले पनि विश्वकपलाई स्मरणीय बनाए। विश्वकप उचाल्ने उनी पहिलो दक्षिण अफ्रिकी हुन्। विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलभन्दा माथि उठ्न सकेको थिएन। क्रिस्टेनले विश्वकपपछि दक्षिण अफ्रिका फर्कने निर्णय यसअघि नै गरिसकेका थिए।
समूह चरणमा दक्षिण अफ्रिकासँग पराजित भारतले क्वार्टरफाइनलमा तीनपटकको पटकको साबिक विजेता एवं कुल चारपटक प्रतियोगिता जितेको अस्ट्रेलियालाई पराजित गरेको थियो। सेमिफाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पन्छाएको भारतले तेस्रो प्रयासमा पहिलो पटक घरेलु भूमिमा विश्वकप जितेको हो। सन् १९८७ र १९९६ मा भारत प्रतियोगिताको आयोजक हुँदा सेमिफाइनलमै रोकिएको थियो। चार वर्षअघि वेस्ट इन्डिजमा भएको पछिल्लो संस्करणमा बंगलादेशसँग पराजित हुँदा भारत पहिलो चरणबाटै बाहिरियो।
म्यान अफ द म्याच धोनीले ७९ बलको इनिङमा ८ चौका र २ छक्का प्रहार गरे। इनिङ दौरान एकदिवसीय क्रिकेटमा आफ्नो ६ हजार रन पूरा गरेका धोनीले गौतम गम्भिरसँग चौथो विकेटमा २० ओभरभित्र १ सय ९ जोडी भारतको विजय आधार तयार पारेका थिए। भारतीय इनिङको केन्द्रबिन्दु बनेका गम्भिरले ९७ रन बनाए। उनलाई थिसारा परेराले बोल्ड गरे। गम्भिरले १ सय बल खेल्दै ९ चौका प्रहार गरे।
वीरेन्द्र सेवाग शून्य, सचिन तेन्दुलकर १८ र विराट कोहली ३५ रन बनाई आउट भएको अवस्थामा धोनीले युवराज सिंहसँग ७ ओभरमै अविजीत ५४ रन जोडे। २१ रनको अविजित इनिङ खेलेका युवराज म्यान अफ द सिरिजमा चुनिए। प्रतियोगितामा भारतले खेलेको ९ मध्येको ७ खेल जित्दा युवराज ४ खेलमा म्यान अफ द म्याच चुनिएका थिए।  यसअघि माहेला जयबर्द्धनेको अविजीत १ सय ३ रनमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले चुनौतीपूर्ण स्कोर बनाएको थियो। प्रतियोगितामा उनले दोस्रो सतक बनाए पनि श्रीलंका उपविजेतामै सीमित भयो। विश्वकपसँगै श्रीलंकाली महान् स्पिनर मुथैया मुरलिधरनले १९ वर्षे आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनलाई पूर्णविराम लगाए। विश्वकपपछि संन्यास घोषणा गरेका मुरली पूरा स्वस्थ नभए पनि फाइनल खेलेका थिए। तर उनले कुनै विकेट लिन सकेनन्।  उनले यस प्रतियोगितामा १५ विकेट लिँदै विश्वकप इतिहासमा आफ्नो विकेटसंख्या ६८ पुर्‍याए, जुन सर्वाधिक विकेट लिने अस्ट्रेलियाका ग्लेन म्याक ग्राभन्दा तीनमात्र कम हो। टेस्ट र एकदिवसीयमा सर्वाधिक विकेट लिने कीर्तिमान मुरलीकै नाममा छ। उनले टेस्टमा ८ सय र एकदिवसीयमा ५ सय ३४ विकेट लिएका छन्। श्रीलंकाले १९९६ को विश्वकप जित्दा मुरली सो टोलीका सदस्य थिए। भारतीय राष्ट्रपति प्रतिभा पाटिलले श्रीलंकाली समकक्षी महिन्द्रा राजापाक्षेसँग बसेर फाइनल हेरेका थिए। भारतले विजयी खेलाडीलाई जनही १ करोड भारु दिने निर्णय गरेको छ। त्यस्तै क्रिस्टेनसहितको प्रशिक्षण टोलीलाई जनही ५० लाख र भारतीय क्रिकेट छनोट समितिलाई जनही २५ लाखले पुरस्कृत गर्ने घोषणा भारतीय क्रिकेट बोर्डले गरेको छ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस