Thursday, December 30

साइबर अपराध बढाउँदै फेसबुक

          
 साभार-नागरिक न्यूज़
    सामाजिक सञ्जाल फेसबुकमा आफ्नै विद्यार्थीकी दिदीको नाममा एकाउन्ट खोलेर अश्लील सामाग्री राख्ने शिक्षक भोजराज सुब्बा कारागारमा छन्।  फेसबुकको लोकप्रियता र यसबाट पीडित हुनेको संख्या सँगसँगै बढ्दो छ, तर फितलो कानुन र फेसबुक मुख्यालयको असहयोगले अपराधीलाई फन्दामा पार्न नसकेर प्रहरी हैरान छ।
महानगरीय प्रहरी अपराध महाशाखा साइबर क्राइम सेलको तथ्यांकअनुसार फेसबुकबाट हैरान भएर प्रहरीकहाँ धाउनेको संख्या दिनहुँ बढिरहेको छ। सेलमा दर्ता भएका १८ उजुरीमध्ये १० वटा त फेसबुकविरुद्धै छन्।

अमेरिकामा मुख्यालय रहेको फेसबुकका विश्वभर ५० करोड प्रयोगकर्तामध्ये ६ लाख ५० हजार प्रयोगकर्ता नेपालमै छन्। गत वर्ष फेसबुकविरुद्ध तीनवटा उजुरी दर्ता भएकामा यस वर्ष नौ महिनामै सातवटा पुगिसकेको सेलले जनाएको छ। फेसबुकबाट हैरान भए पनि प्रहरीसम्म नआएकाको संख्या उल्लेख्य रहेको प्रहरी अनुमान छ।
आफ्नो नाममा अर्कैले फेसबुक खाता खोलेर दुरुपयोग गरेको उजुरी सबैभन्दा धेरै आएका छन्। उजुरीकर्तामा युवतीको संख्या बढी छ। फेसबुक गुनासो लिएर प्रहरीमा आउने युवक संख्या पनि बढ्दो रहेका सेलका प्रहरी निरीक्षक चन्द्रसिंह धामीले बताए। 'अपरिचित व्यक्तिले आफ्नो नाममा फेसबुक खोलेर जथाभावी स्टाटस र नग्न तस्बिरसमेत राख्ने गरेको उजुरी बढी आएका छन्,' उनले भने।
उजुरीसँगै सेलका प्रहरीको समय पनि फेसबुकले बढी लिन थालेको छ। इमेल थ्रेट, भिओआइपी, एसएमएस थ्रेट, वेबसाइट ह्याकजस्ता अपराध अनुसन्धान गर्ने कार्यक्षेत्र तोकिएको सेलका प्रहरी अधिकारीको अधिकांश समय अहिले फेसबुक अनुसन्धानमै बित्ने गरेको उनीहरू बताउँछन्। तर, सोचेजस्तो उपलब्धि हात पार्न नसकिएको उनीहरूको गुनासो छ।
प्रहरीले गुनासो आउनासाथ फेसबुक एकाउन्ट बन्द गरिदिन्छ, तर साइबर अपराधी भने पक्राउ पर्दैनन्। सेलका एक प्रहरी अधिकारीका अनुसार फेसबुक दुरुपयोग गरेको अभियोगमा पक्राउ पर्नेमा सुब्बा अपवाद मात्र हुन्। प्रहरीले अन्य प्रक्रिया अपनाएर अनुसन्धान गर्दा उनी फेला परेका थिए।
गृहमन्त्री भीम रावलको नाममा फेसबुक एकाउन्ट खोल्ने व्यक्ति अझै प्रहरी फन्दाबाहिरै छ। अरूको नाममा एकाउन्ट खोलेर दुरुपयोग गर्नेको पहिचान गर्न फेसबुक मुख्यालयको सहयोग चाहिन्छ। तर उसले यस्ता विषयमा सहयोग गर्दैन।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार फेसबुकको दुरुपयोगबाट भएका अपराध नियन्त्रणमा प्रस्ट कानुनी व्यवस्था नहुँदा अझ समस्या छ।
असम्बन्धित व्यक्तिले अर्काको नाममा फेसबुक एकाउन्ट खोलेर दुरुपयोग गरेको पर्याप्त प्रमाण फेला परे पनि फेसबुक सञ्चालकले त्यसको रेस्पोन्स नगर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको अनुभव छ।
अन्तर्राष्ट्रिय सञ्जालमा समन्वयको अभाव र प्रस्ट कानुनी व्यवस्था नहुँदा फेसबुकमार्फत हुने गरेका अपराध अनुसन्धान जटिल भएको उनीहरू बताउँछन्। इन्टरनेटबाट हुने गरेका अपराधसम्बन्धी महासन्धि नेपालले स्वीकार नगरेको र फेसबुकको केन्द्रमा नेपालको सहज पहुँच नहुँदा प्रहरीले उजुरी आएको विषयको अनुसन्धान गरी एकाउन्ट बन्द गराउने गरे पनि अभियुक्तको पहिचान गरी कारबाहीको दायरामा भने ल्याउन नसकिएको उनीहरू बताउँछन्।

समस्या र प्रमाणसहित फेसबुकलाई मेल गर्दासमेत कुनै प्रतिक्रिया नआउँदा अनुसन्धान अधिकारी हैरान छन्। 'उजुरीबारे जानकारी दिएर सहयोग माग्दा फेसबुकले आफ्ना धेरै ग्राहक भएकाले यस्ता समस्या हेर्ने कर्मचारी नभएको भन्दै पन्छने गरेको छ,' धामीले भने।
पटकपटक आग्रह गरिए फेसबुकले अदालतबाट जारी कागजातसहित एक सयदेखि पाँच सय डलरसम्म शुल्क माग्छ। प्रहरी निरीक्षक धामीले भने, 'अनुसन्धान प्रक्रियाको जटिलताले फेसबुक एकाउन्ट बन्द गराउनमात्र सकिन्छ, अपराधीसम्म पुग्न गाह्रो छ।'

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस