
सरकारले पारस शाहको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता गरेको छ । शाहलाई पक्राउ गरिए पछि मंगलबार उनीसँग रहेका सुरक्षाकर्मी फिर्ता लिने निर्णय गरिएको हो । शाह काठमाडौंबाहिर जाँदा सेना र सशस्त्र प्रहरीका सात/सात सुरक्षाकर्मी छुट्टाछुट्टै गाडीमा अगुवा/पछुवाका रूपमा परिचालित हुन्थे । चितवनमा भने उनीसँग सेनाका ७ सुरक्षाकर्मीमात्रै थिए । सशस्त्रका सुरक्षाकर्मीलाई सीमा सुरक्षाको बेस कार्यालयमै बस्न भनेर उनी सैनिक टोली लिएर रिसोर्ट गएका थिए ।
स्रोतअनुसार पूर्वराजा र पूर्वयुवराजको निवासमा सेना र सशस्त्रका डेढ सयभन्दा बढी सुरक्षाकर्मी छन् । नागार्जुन दरवार र निर्मल निवासका लागि छुट्टाछुट्टै दिइएकोमा हाल अधिकांश निर्मल निवासमै तैनाथ छन् ।
पूर्वराष्ट्राध्यक्षका हैसियतमा पूर्वराजदम्पतीलाई सेना, सशस्त्र र नेपाल प्रहरीको सुरक्षा दिने निर्णय भएको थियो । एक पूर्वगृहमन्त्रीका अनुसार तत्कालीन सरकारले पूर्वयुवराजलाई सैनिक सुरक्षा दिने निर्णय गरेको छैन । कांग्रेसका केही नेताले प्रधानमन्त्रीलाई भेटी पूर्वराजपरिवारका सदस्यको सुरक्षामा सेना खटाएकामा असन्तुष्टि प्रकट गर्दै छानबिनको माग गरेका थिए ।
अभियोग फेरियो
पटक-पटक विवादास्पद कार्यमा मुछिए पनि छुट्कारा पाउँदै आएका पूर्वयुवराज पारस शाह पहिलोपल्ट कानुनी दायरामा तानिएका छन् । प्रहरीले उनलाई मंगलबार मध्याह्न साढे १२ बजे पोखराको फूलबारी रिसोर्टमा पक्राउ गरी भरतपुर पुर्याएको छ । चितवन गोली काण्डमा समातिएका शाहलाई सरकारले भने अभियोग फेर्दै कमजोर मुद्दा दर्ता गरेको छ ।
पोखराको रिसोर्टमा चार घन्टा नियन्त्रणमा राखी हेलिकप्टरबाट उनलाई चितवन लगिएको हो । उनीविरुद्ध चितवन प्रहरीले सुरुमा ज्यान मार्ने उद्योग (प्रयास) अन्तर्गत गम्भीर अभियोगको जाहेरी दर्ता गरेको थियो । पेस्तोल तेस्र्याई रुवेल चौधरीलाई ज्यान लिन खोजिएको विवरणसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता (नम्बर १६६) भएको थियो । ँपछि त्यसलाई फेरियो,’ सुरक्षा स्रोतले भन्यो, त्यही दर्ता नम्बरमा सार्वजनिक अपराधसम्बन्धी मुद्दा दायर गरियो । सबै काम गृह प्रशासनकै आदेशअनुसार भएको हो ।’
कम सजायको व्यवस्था हुने 'केही सार्वजनिक अपराध (अपराध र सजाय) ऐन' सँग सम्बन्धित मुद्दा प्रमुख जिल्ला अधिकारीको क्षेत्राधिकारभित्र पर्छ ।
'अन्य नागरिकका हकमा यस्तै प्रकृतिका अभियोगलाई ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही चलाइएका कैयौं उदाहरण छन्,' नेपाल बार एसोसिएसनका महासचिव विजयप्रसाद मिश्रले कान्तिपुरसँग भने, 'बन्दुक चलाउँदा मुस्किलले बचेको अवस्था छ । यस्तोमा सार्वजनिक अपराधअन्तर्गत मात्र कारबाही हुनु हास्यास्पद हो ।'
चितवनका प्रजिअ वसन्तराज गौतमले किटानी जाहेरी नभएका कारण शाहविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको जानकारी दिए । शाहले उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ चौधरीसँग शनिबार राति चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगरटप्स जंगल लजमा झगडा गरी पेस्तोलबाट 'फायरिङ' गरेका थिए ।
यसअघि जिल्ला प्रहरी कार्यालय चितवनबाट जारी गरिएको पक्राउ पुर्जी पोखरा लगेर शाहलाई बुझाइएको थियो । कास्कीका प्रहरी प्रमुख एसपी पुष्कर कार्कीले साढे १२ बजे शाह बसेको रिसोर्टको कोठामा छिरेर पक्राउको खबर दिएका थिए ।
'पक्राउ पुर्जीको जानकारी दिएपछि 'ए ठीकै छ, अब मैले के गर्नुपर्छ' भन्दै सामान्य रूपमा लिए,' एसपी कार्कीले कान्तिपुरसँग भने, 'पक्राउ आदेश छ भनेपछि 'कागज आउँछ' भनी उनले जिज्ञासा राखेका थिए ।'
पक्राउबारे सूचित गरेको करिब चार घन्टापछि मात्र शाहलाई रिसोर्टबाट निकाल्न सकिएको थियो । 'उनले कानुनी सल्लाह लिएको र खाना वा अन्य तयारीका कारण केही समय लागेको हो,' कार्कीले बताए ।
प्रहरी पुगेपछि शाह अघिल्लो दिन आएका ३/४ जना सहयोगीका साथ कोठामै बसेका थिए । उनले खाना नखाई र पटक-पटक बाथरुम जाने गरेर चार घन्टा बिताएका थिए । पक्राउ पुर्जी दिइएपछि उनी आफ्नै कोठामा बसिरहे भने प्रहरीले बाहिर लबीमा पर्खियो । शाहले निस्कने क्रममा 'धेरै प्रहरी जानुपर्छ र ?' भनी सोधेको एक प्रहरीले बताए ।
उनले स्वास्थ्यका कारण गाडीमा हिँड्न अस्वीकार गरेका थिए । सरकारले पक्राउ परेकालाई अहिलेसम्म हेलिकप्टरमा नलगेका कारण शाह आफैंले हेलिकप्टर मगाउँछु भनेका
थिए । स्रोतका अनुसार हेलिकप्टर खर्च शाहले नै बेहोर्ने भएका छन् । आफूलाई मुटुसम्बन्धी समस्या भएकाले चिकित्सकको सल्लाहअनुसारै गाडी नचढ्ने उनको भनाइ थियो । शाहले भरतपुरतर्फ उड्नुअघि नै त्यहाँ उनका चिकित्सक र कानुनी सल्लाहकार पुग्ने व्यवस्था मिलाएका थिए ।
शाहलाई लिन पौने चार बजे आएको फिस्टेल एयरको हेलिकप्टर ४५ मिनेटपछि मात्र उड्न सकेको थियो । शाहलाई गण्डकी अञ्चल प्रहरी प्रमुख एसएसपी केशव अधिकारी र इन्स्पेक्टर सुनील मल्लले भरतपुरस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा ओरालेका थिए ।
घटना क्षेत्र चितवनमा पर्ने भएकाले शाहलाई मंगलबार पोखरामा बयान लिने वा सोधपुछ गर्ने काम भएन । 'कारबाहीको सबै प्रक्रिया चितवनबाटै हुन्छ,' एसपी कार्कीले भने ।
चितवन जिल्ला प्रहरी कार्यालयमा भने मेघौली विमानस्थल इकाईका प्रहरी सहायक निरीक्षकका नामबाट उजुरी दर्ता भएको हो । आइतबार र सोमबार टाइगरटप्समा पुगेको प्रहरी टोलीले गरेको सार्वजनिक मुचुल्काका आधारमा प्रहरीकै नामबाट उजुरी दर्ता गरिएको थियो । जिल्ला प्रहरी चितवनले 'काठमाडौं महानगरपालिका वडा नं-३ स्थित निर्मल निवास बस्ने तपाईं पारस शाहले टाइगरटप्स होटलका पाहुना रुवेल चौधरीलाई सामान्य अवस्थामै तर्साउन हतियार चलाएको' भन्ने मनसायको उजुरी लेखेको स्रोतले जनायो ।
चितवन प्रहरी कार्यालयले भने आफूहरूले त्यसबारे केही भन्न नमिल्ने जनायो । 'यसबारे हामीले केही भन्न मिल्दैन,' जिप्रकाका डीएसपी एवं गोली काण्डका छानबिन अधिकृत रविराज खड्काले कान्तिपुरसँग भने, 'अनुसन्धान जारी छ । हामीले त भन्नै मिल्दैन ।
एकै ठाउँबाट मात्रै सूचना दिनु भन्ने माथिको आदेश छ ।' पूर्वयुवराज शाह यसअघि संगीतकार प्रवीण गुरुङको हत्या, अनेक गोली काण्ड र कुटपिटका घटनामा मुछिए पनि कारबाहीमा परेका थिएनन् ।
हतियार अवैध
पूर्वयुवराज पारस शाहले चितवनमा चलाएको पेस्तोल अवैध पाइएको छ । काठमाडौं जिल्ला प्रशासनमा उनका नाममा कुनै हतियार दर्ता नदेखिएकाले त्यो अवैध भएको हो ।
'सबै प्रकारका हतियार हरेक वर्ष नवीकरण गर्नुपर्छ,' काठमाडौंका प्रजिअ लक्ष्मीप्रसाद ढकालले भने, 'यस वर्ष काठमाडौंमा नवीकरण भएका १२ हजार ९ सय २० हतियारमध्ये शाहको नाममा एउटै छैन ।' रिभल्वर, पेस्तोलजस्ता साना हतियार जसको नाममा छ, उसले मात्रै चलाउन पाउने कानुनी व्यवस्था छ । अनुमतिप्राप्त व्यक्तिको मृत्युपछि हतियार प्रशासनमा बुझाउनुपर्छ ।
गृह मन्त्रालयका अनुसार आत्मसुरक्षाका लागि पूर्वराजपरिवारका कुनै पनि सदस्यलाई हतियार राख्न दिने निर्णय भएको छैन । कांग्रेसका केही नेताले मंगलबार प्रधानमन्त्रीलाई भेटी पूर्वराजपरिवारका सदस्यहरूसँग रहेका हतियारबारे छानबिनको माग गरेका थिए । 'गैरकानुनी हतियार हुँदा दरबार हत्याकाण्ड भयो, चितवन घटनाले निर्मल निवासमा गैरकानुनी हतियार रहेको पुष्टि भएको छ,' कांग्रेसका एक नेता एवं पूर्वगृहमन्त्रीले भने, 'त्यस्ता हतियार निर्मल निवासमा कति छन्, छानबिन गर्नुपर्छ ।'
काठमाडौं जिल्ला प्रशासनले शाहले चितवनमा पेस्तोलबाट गोली हानेको सूचना पाएलगत्तै ५ कर्मचारी खटाएर उनको नाममा हतियार दर्ता भए/नभएबारे अनुसन्धान थालेको थियो । हातहतियार खरखजाना ऐन, २०१९ अनुसार बिनाअनुमति हतियार चलाए वा बोके ३ देखि ७ वर्षसम्म कैद वा ६० हजारदेखि १ लाख ४० हजारसम्म जरिवाना हुन्छ । यो ऐनको दोस्रो संशोधन (२०६४) ले यस्ता अभियुक्त धरौटीमा नछुट्ने व्यवस्था गरेको छ । अनुमतिबिना हतियार दिने व्यक्तिलाई ऐनअनुसार १ देखि ३ वर्षसम्म कैद वा २० देखि ६० हजार रुपैयाँसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । हातहतियार खरखजानासम्बन्धी मुद्दामा सजाय तोक्ने अधिकार प्रजिअलाई छ । प्रजिअको फैसला चित्त नबुझे पुनरावेदन अदालत जान सकिन्छ ।
सेनाको छुट्टै अनुसन्धान
नेपाली सेनाको मुख्यालयले शाहको सुरक्षार्थ खटिएका सैनिक कर्मचारीबारे छानबिन थालेको छ । चितवनको टाइगरटप्समा शाहले सैनिक अंगरक्षककै हतियार प्रयोग गरेका हुन् कि निजी भन्नेबारे सेनाले अनुसन्धान थालेको हो । सेनाका प्रवक्ता सहायकरथी रमीन्द्र छेत्रीले भने, 'शाहको सुरक्षामा रहेका ७ सैनिकबारे जाँचबुझ -कोर्ट अफ इन्क्वारी) थालिएको छ । छानबिनमा दोषी पाइए कानुन बमोजिम कारबाही हुन्छ ।'
शाहका पक्षमा नाराबाजी
पक्राउ परेका शाहलाई मंगलबार साँझ पोखराबाट चितवन ल्याउने क्रममा विमानस्थल नलगी एक्कासि प्रहरी तालिम केन्द्रमा हेलिकप्टर अवतरण गराइयो । त्यसअघि शाहले आफू चढेको हेलिकप्टर चितवनस्थित सैनिक ब्यारेकमा अवतरण गराउन माग गरेको स्रोतको भनाइ छ । उनिसँगै रहेका उच्च प्रहरी अधिकृतले सेनाको ब्यारेकमा झार्न नमिल्ने भएपछि थप सजिलोका लागि प्रहरी तालिम केन्द्रमा अवतरण गराइएको हो । विमानस्थलमा उनको समर्थनमा नाराबाजी गर्ने तयारी गरेको समूह उनी विमानस्थलमा नझरेपछि खिन्न हुँदै तालिम केन्द्रतिर हुइकिएको थियो ।
विमानस्थलमा दर्जनौं पत्रकार, सर्वसाधारण र उनका समर्थकले प्रतीक्षा गरिरहका थिए । तर, उनी चढेको हेलिकप्टर कडा सुरक्षा रहेको तालिम केन्द्रमा लगियो । तालिम केन्द्रभित्रको गेस्ट हाउसमा उनलाई राखिएको छ । उनको इच्छाअनुसार खाना खाने प्रबन्ध गरिएको
स्रोतले जनायो । शाहसँग उनका केही वकिल पनि सँगै आएका थिए । तालिम केन्द्रमा ल्याइएपछि बाहिर परिसरमा उनको सर्मथनमा केही युवाले नाराबाजी गरेका थिए । नाराबाजीका कारण उनलाई जिल्ला प्रहरीमा नलगी त्यहीँ बयान लिइयो ।
राप्रपा नेपाल चितवनका पार्टी सभापति बद्री तिमिल्सिनाको नेतृत्वमा रहेको समूहले नाराबाजी गरेको हो । केन्द्रमा कडा सुरक्षा व्यवस्था भएकाले सेना वा सशस्त्र प्रहरीलाई भने परिचालन गरिएन ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस