Monday, August 9

प्रेमले पायो अदालती साथ



धेरै दिनपछि उनीहरूको अनुहारमा हाँसो फर्किएको क्षण थियो त्यो । पानी पर्नै लाग्दा धुम्मिएको बादलजस्तो अनुहार लिएर अदालत धाएका सप्तरी जितपुरका किशोरकुमार पासवान र रञ्जनकुमारी सिंह आइतबार इजलासबाट बाहिरिँदा चाहिँ वर्षादपछि खुलेको आकाशजस्तै थिए, एकदम हँसिला । नहुन् पनि किन ? रञ्जनकुमारीका बाआमा र सारा गाउँ उनीहरूको प्रेमको विरोधमा उभिएका बेला सर्वाेच्चले सँगै बस्न पाउने आधार जो खडा गरिदिएको थियो ।

न्यायाधीशद्वय बलराम केसी र अवधेसकुमार यादवको संयुक्त इजलासले आफूविरुद्ध लागेको अपहरणको अभियोग खारेज गरिदिएपछि किशोरकुमारले इजलासमै आफैंले किनिदिएको रातो सारीमा मुस्कुराएकी रञ्जनकुमारीलाई बेस्सरी अँगाले, बाआमा, न्यायकर्मी र आफन्तकै अघिल्तिर । 'मौलिक हकअनुसार प्रत्येक वयस्क नागरिकलाई जुनसुकै जातिको आफ्नो विचार र मन मिल्ने व्यक्तिसँग विवाह गर्ने हक छ,' आफ्ना ससुराले आफैंविरुद्ध सर्वाेच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै इजलासले भनेको थियो, 'तसर्थ गैरदलित र दलितको विवाह हुन नसक्ने भन्ने जिकिर पीडित भनिएकी रञ्जना सिंह र किशोरकुमारको मौलिक हक र मानव अधिकार हनन हुने कुरा हो ।'

तिनको अधिकार हनन हुन नदिन इजलासले रिटै खारेज गर्ने निर्णय गर्‍यो । रञ्जनाकुमारीले आफू राजीखुसीले घर छाडेर किशोरकुमारसँग आएको र उसैसँग बिहा पनि गरिसकेको साविती बयान दिएपछि उनका बाबुको उजुरी स्वतः झूटो भइदिएको थियो र तदनुसारै इजलासले फैसला गरिदिएको थियो । 'मेरा लागि त्यो अब मरी' केटीका बाबु विश्वनाथ भन्किँदै गए । असार २ गते भागेर आएका उनीहरू अब फेरि घरै फर्किने विचारमा छन् ।

'पढाइ छुटाउनु भएन,' रञ्जनकुमारी भन्छिन्, 'यता बसेर के गर्नु ?'रञ्जनकुमारी गाउँकै एक उच्चमाविमा १० कक्षामा पढ्छिन् भने किशोरकुमार त्यहीँ स्नातक पहिलो वर्षमा । रञ्जनकुमारीले आफक्नो उमेर १९ वर्षको भए पनि कागजपत्रअनुसार १७ वर्षको मात्रै प्रमाणित भएको छ । अदालतले एक वर्षपछि सम्बन्धित निकाएमा गएर बिहा दर्ता गर्न उनीहरूलाई सुझाव दिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस