
नेताहरूले सरकार बनाउन नसक्ने हो भने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नेतृत्वमा सरकार गठन गर्नुपर्ने व्यङ्ग्य हास्य कलाकारहरूले गरे। रिपोर्टर्स् क्लबमा बुधबार आयोजित 'नेपालको राजनीति र गाईजात्रा' अन्तरक्रियामा कलाकारहरूले यस्तो धारणा राखेका हुन्। सधैं राजनीतिका 'खेलाडी'हरूको उपस्थिति रहने कार्यक्रमस्थलको माहोल बुधबार केही फरक देखियो। अघिपछि राजनीतिक गफ चल्ने ठाउँमा हास्य कलाकारहरूको उपस्थितिमा ठट्टयौली 'राजनीति' चल्यो।समयमा संविधान बनाउनुको सट्टा कुर्सीका लागि खिचातानी चल्नु दुर्भाग्यपूर्ण रहेको कलाकारहरूले बताए। कार्यक्रममा किरण केसी, शिवहरि पौडेल, उमेश मायालु, शैलेन्द्र सिम्खडा, जितु नेपाल, दमन रूपाखेती, मनोज आचार्य लगायतका कलाकारले व्यङ्ग्य गरेका थिए।
हास्य कलाकारहरूको महान पर्वको रूपमा रहेको 'गाईजात्रा' बुधबार सभागृह र प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। ११ दिन चल्ने कार्यक्रममा नयाँ कलाकारहरू समेटिएका छैनन्। यो पटक गाईजात्रामा राजनीतिक व्यङ्ग्यको बाहुल्य रहने बताइएको छ।
जिरे खुर्सानी, मेरी बास्सै र तीतो सत्यको टिमले प्रज्ञा प्रतिष्ठानमा र झ्याइँकुटी झ्याइँ तथा भुइँचालो टिमले सभागृहमा गाईजात्रा देखाउँदैछन्।
'यसपटक हामीले शब्द छनोटमा विशेष ध्यान दिएका छौँ,' शिवहरि पौडेलले भने। गाईजात्रा कार्यक्रममा जितु नेपाल, दमन रूपाखेती, केदार घिमिरे, कुन्जना घिमिरे, निरू खड्का, किरण केसी र राजाराम पौडेल लगायतका कलाकारले दर्शकलाई हँसाउनेछन्।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस