Wednesday, April 14

आन्तरिक पर्यटन


मनोज गजुरेल



अहिले जनवादी गायकदेखि धनवादी नायकसम्म, मनवादी गायिकाहुँदै तनवादी नायिकासम्म माओवादीमा ओइरिएका छन् । कोही यो ओइरोलाई एमालेमा गएको बिशाल पहिरो ठान्दछन् । उनिहरुको तर्क रहने गर्दछ- यो पहिरोले माओवादी बाहेक सबैको अगाडी गहिरो खाडल खनि दिएको छ । पार्टीका कार्यकर्तादेखि दरबारका हर्ताकर्ताहरुसम्म माओवादीमा लर्को लागेको देख्ने अर्काथरी थप्छन्- 'यो हुलमूलमा जिउ जोगाउने होड हो, माओवादीले धान्नै नसक्ने ओभरलोड हो । '

'सयथरी बाजा एउटै फुल-सयथरी बिचार एकै हुल' को नारा सहितको यस कदमलाई बिभिन्न मान्छेले भिन्न भिन्न दृष्टिकोणले हेरेकाछन् । कोही भन्छन्- 'यो राष्ट्रघातीकालागि नराम्रो तोड हो, राष्ट्रघाती र राष्ट्रवादीबिच ध्रुबिकरणको मोड हो ।' मेरो सिद्धान्त के छ भने- बिचार सुन्नु सबैको, ब्यवहार गर्नु आफ्नो π आफु परियो सबैको, सधैंको प्रतिपक्ष- यस ओइरोको बिषयमा मेरो आज पनि भिन्न मत नै रहेको छ । यो लहर सिद्धान्ततः मोड होस् वा कमोड होस्- ब्यवहारतः यो 'आन्तरिक पर्यटन'को होड हो, पार्टीले धान्नसके देश बनाउने जोड हो, नसके मकैको ढोड हो !

खप्परध्वजको रिसर्चबाट पत्ता लागेको छ- नेपाली जनता कुनै शक्तिका पकेट मनि हैनन्-रकेटको गतीमा यात्रा गर्ने पर्यटकहरुमात्र हुन् । एक जमाना थियो- सबै पञ्च नेपाली, सबै नेपाली पञ्चको नारा उरालिएको थियो । नेपाली जनता त्यतिखेर 'पञ्चप्रदेश'को यात्रामा थिए । तर प्रदेशको बातावरण ठिक नभएपछि जनताहरु अर्को ठाउंको यात्रामा निस्किए र 'काङ्ग्रेसगञ्ज'मा रमाउन थाले । सबै जनता कांग्रेस भए- पञ्चहरु गोलखाडी गए , चरा चुरुङ्गी सबै कांग्रेस भए । त्यसपछिको रेसमा कांग्रेस पछाडी पर्यो- ढुंगा,माटो सबै एमाले बने । जनतापनि'एमालेल्याण्ड'को यात्रामा निस्किए ।

'एमालेल्याड'को पर्यटन केही समयसम्म रमाइलै भयो । तर विस्तारै एमालेल्याडमा शितलहर चल्न थाल्यो, पर्यटकहरु बिरामी पर्न थालेपछि आ-आफ्नो घरमा फर्किए । त्यसको केही समयपछि 'राजास्थान'मा राजा बिरेन्द्रको हत्या हुन पुग्यो- त्यस हत्याकाण्डको पिंडामा सबै जनता 'राजास्तान' तिर हानिए । पछि पात पतिंगर समेत उनको हत्याराको बिपक्षमा लागे- बिरेन्द्रको शवयात्रामा देखिएका मलामीको सागर देख्दा लाग्दथ्यो- यो देशका सबै नागरिक 'राजास्तान'का आदीवासी हुन् !

  तर, बिरेन्द्रको संमानमा कपाल खौरने तिनै जनता केही समयपछि 'राजास्तान'मा आगो झोस्न थाले । यस्तो लाग्दथ्यो- ति जनता पर्यटक हैनन्- रावणको लंका सत्यानास गर्न ओइरिएका वानरसेनाहरु हुन् ! ज्ञानेन्द्रको राजास्थान खरानी भयो- पर्यटकहरु तान्न बिभिन्न ठाउंबाट प्रयत्न भयो-तर 'माओवादी बगैंचा'ले पर्यटकहरुलाई यस्तरी तान्यो कि अरु पर्यटनस्थलहरु भ्fmण्डै झण्डै टाट पल्टिएको स्थिति रह्यो ।

अब अहिलेको यात्रा मैले के भनौं-तपाईं आफैं भुक्तभोगी हुनुहुन्छ । जलवायु प्रदुषणले धेरै पर्यटन स्थल प्रदुसित भएकाछन् । कांग्रेसल्याण्डमा 'सुजाता फ्लु'ले बसिसक्नु छैन । 'एमालेल्याण्डमा' दक्षिणी तातो हावा चलेर हैरान छ । 'फोरमपुर'मा फोहर गन्हाएर नाकै झर्लाजस्तो छ । 'माओवादी बगैंचा'को आकर्षणमा धुलो मैलो लाग्न थालेको छ । 'आन्तरिक पर्यटक'हरु न्ायाँ गन्तब्यको खोजीमा छन् । थाहा छैन-भोली ती जनताको यात्रा कुन दिशातिर तय हुने हो ! किन भने जनता त केवल 'आन्तरिक पर्यटक'मात्र हुन् ।

खप्परध्वजको तर्क छ- जनता कहिल्यै कसैको पेवा रहेनन् कोही कसैको दाइजो भएनन् । जनता न क्रेडिटकार्ड हुन् , न त ब्यांक बैलेन्स- उनिहरु त केवल आन्तरिक पर्यटकमात्र हुन्, कहिले कुन पार्टीमा बस्छन्, कहिले कुन पार्टीमा ! पार्टीहरुलाई थाहा होस्- जनता न तिम्रो पार्टीमा हुनेछन्, न त हाम्रो पार्टीमा रहनेछन्-उनिहरु त केवल बेला मौकामा यो पार्टीमा आउंछन् , कहिले त्यो पार्टीमा रमाउँछन्- रमझम सकिन्छ, अनि आ-आफ्नो गन्तब्यतिर लाग्छन्- सबैलाई चेतना भया ! राजनीति पार्टी, अर्थात् राज्यको नीति बनाउने र चलाउने संस्था -पार्टी शब्दको अर्थ यही हो । शब्द र अर्थ फलाकेर जनताको चित्त बुझाउँदैन- जनता ब्यवहारिकता खोज्दछ । दुर्भाग्य, ब्यहारमा पार्टी भनेको बास बस्ने पाटीजस्तो भइदियो, लेख्दै मेट्दै गर्ने पाटि बनि दियो । कोही भन्छन्-पार्टी भनेको दोकान हो, नेता दोकानदार अनि जनताचाहिं ग्राहक ! अर्काथरी भन्छन्- सिद्धान्त गाडी, नेता ड्राइभर र जनता पेसेन्जर हुन्- त्यसैले एउटै गाडीमा पेसेन्जर ओभरलोड बस्नु हुन्न, ड्राइभर आत्तिएर दुर्घटना हुन सक्छ ।

तर, खप्परध्वजको बिचारमा पार्टी न पसल हो, न गाडी -पार्टीहरु त मात्र पर्यटन स्थलहरु हुन्, नेता पर्यटकीय स्थलमा म्यानेजरहरु, अनि जनता आन्तरिक पर्यटकमात्र हुन् । पर्यटन स्थलमा राम्रो सुबिधा छ, अतिथि सत्कारमा अपन्ात्व छ र सेवा सुविधामा कुनै कसर बांकी राख्नु भएको छैन भने ति पर्यटक बर्षेनी हुने चुनावी मेलामा तपाईकैमा आउने छन्- तर, 'धारेहात दिल्लीतिर-मन बचन कुर्सीतिर' भयो भने आन्तरिक पर्यटकहरु नयाँ गन्तब्यको खोजीमा लागिहाल्ने छन् । किनभने जनता पसलका ग्राहक हैनन्, यो देशका आन्तरिक पर्यटकमात्र हुन् ।

साभार- डामाडोल डोट कॉम

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस