Wednesday, April 14

'बाबा'हरुको बजार


मनोज गजुरेल


बजार अहिले 'बाबा'हरुको छ । बजारमा हजारथरी बाबाहरु भेटिन्छन् । खडे बाबा, लडे बाबा, फलाहारी बाबा, जलाहारी बाबा, सर्वहारी बाबा, योगी बाबा, रोगीबाबा, भोगी बाबा, संभोगी बाबा, निरासी बाबा, रोमरसी बाबा, म:म:चा, खसी र भैंसी बाबा, औतारी बाबा, दौंतरी बाबा, काल बाबा, त्रिकाल बाबा, अनिकाल बाबा, निकाल बाबा, संसारी बाबा, अन्सारी बाबा, भन्सारी बाबा, पाइलट बाबा, लटका लट बाबा, काली बाबा, साली बाबा, जाली बाबा,षडयन्त्री मन्त्री बाबा, राजा बाबा, ताजा बाबा- 'बाबा'हरुको संख्या गनिसाध्ये छैन बयान भनिसाध्ये छैन । यस्तो लाग्छ-'बाबा' र 'हावा' उस्तै उस्तै हुन्, जतापनि भ्याइरहेका हुन्छन् ।

प्रेम संबन्ध असफल भयो वा घरायसरी प्रबन्ध बिफल भयो जुवा खेलमा हार भयो वा ब्यापार चौपट बन्यो राजनीतिमा पछारियो वा नैतिकता लछारियो-तपाईं ठान्नुहोस् अब तपाईंका सुखका दिन शुरु भए । असफलता नै 'बाबा' बन्ने उत्तम अवसर हो । याद रहोस मैले छोराछोरीको बाबाको कुरा गरेको हैन भक्तहरुको 'बाबा'को बारेमा भनिरहेको छु । 'बाबा' भन्नु सत्यको खोजीमात्रै हैन एउटा बहुराष्ट्रिय कम्पनी खोल्नु पनि हो ।

'बाबा' बन्न सबैभन्दा पहिले तपाईं परिवारबाट पलायन बन्नोस् समाजबाट गायब हुनुहोस् । शरीरले साथ दिएसम्म यस्तो स्थानमा बस्नोस् जहां पशुपंक्षीहरुको ब्यवहार अधिक से अधिक सिक्न पाइयोस् । एउटा कुरा बिषेश ध्यान दिनोस् दाह्री छुंदै नछुनोस्-कपाल काट्दै नकाट्नोस् । कपालमा लट्टा परुन् दाह्रीमा जुम्राले घरजम गरुन् । अंगेनाको खरानी 'फेयर एण्ड लब्ली' बनोस् सडकमा भेटिएका हरेक बस्तुहरु गहना बनुन् अनि तपाईंको सिंगो शरीर थरीथरीका माला र मेकअपले एउटा कन्टेनरजस्तो बनोस् ।

बाहिरबाट तपाईं 'बाबा'को स्वरुपमा स्थपित भएपछि अब भित्रीरुपमा बाबामय बन्ने प्राक्टिस गर्नुहोस् । तपाईं हिड्दा मानिसलाई यस्तो लागोस् मानिस हैन-कुनै रोबोट हिडिरहेको छ । तपाईं लवाईमा यस्तो लागोस्-तपाईं मानिसको रुपमा कुनै तेश्रो ग्रहबाट कुनै एलियन आइरहेको छ । तपाईंको खुवाई यस्तो लागोस्- तपाईं चिया पिउंदापनि मकै चपाएजस्तो लागोस् । यस्तो बिरुप बन्नोस् कि तपाईं कुनै अर्कै ग्रहबाट आउनु भएजस्तो लागोस् । हिडाईं बोलाई चाल ढाल बिल्कुल अनौठो बनाउने प्रयास गर्नुहोस् । मानिसलाई यस्तो भ्रम होस् कि तपाईं उहिले जुवामा घरजग्गा हानेर बेपत्ता भएको 'बैकुण्ठ प्रसाद' हैन, बिसौंबर्ष अन्तर्ध्यान बनेर प्रकट हुनु भएका 'त्रिकालदर्शी बैकुण्ठेश्वर बाबा १००२५' हुनुहुन्छ ।

तपाईं 'बाबा निर्माणको भट्टि'बाट मानिस बिचमा आउनु पहिले केही बिषेश कर्म गर्न नभुल्नोस् । केही अन्धबिश्वासीहरु खोज्नोस् पुराना जांड पार्टनरहरु भेला पार्नोस् अन्धबिश्वासीहरुको मिटिङ बसाल्न लगाउनोस् । धार्मिकतालाई ब्यापार बनाएर धर्मकै धज्जीकाड्नेहरुसंग संपर्क कायम गर्नुहोस् । भ्रष्ट कर्मचारीहरुसंग साइनो जोड्नोस् पित्त पत्रकारहरुलाई निमन्त्रणा गर्नुहोस् । उपरोक्त महान नागरिकहरुको अगुवाईमा एउटा पन्थ खडा गर्नुहोस् र ठुला ठुला पत्रिका टिभी र वेभ साइटहरुमा समाचार छपाउनोस्- 'सर्बज्ञाता श्रृष्टिकर्ता दुखहर्ता अलौकिक ज्ञाता बाबा बैकुण्ठेश्वर प्रकट हुनु भयो ।'

तिनै चण्डाल चौकडीमार्फत लेख्न लगाउनोस्-बाबाले छुनासाथ तपाईंको जागीर पक्का हुन्छ । कुनै भ्रष्ट हाकिम मार्फत एक दुईवटा जागीर लगाइ दिनोस् पनि । टिभीमा फुक्न लगाउनोस्-बाबाको बुटीद्धारा दिर्घरोग चट् । ज्वरोले सिकिन्त भएको सिधा नागरिकलाई बुटीभित्र सिटामोल मिसाएर खुवाउनोस् निको स्वतः भैहाल्ने छ । आफुलाई शक्तिशाली ठान्नेहरु सधैं असुरक्षित ठान्छन् बाबाको प्राणरक्षक यन्त्रले नमरुन्जेल कुनै शक्तिले केहीपनि बिगार्दैनु केही नेता राजा वा प्रसासकलाई हातमा लिनोस् । यतिगरिसकेपछि तपाईं पूर्ण रुपमा बाबा बन्नु भयो परिक्षामा पास हुनुभयो-तपाईंलाई बाबाको संसारमा स्वागत छ ।

अं एउटा कुरा याद राख्नोस्- मानसिक शान्ती बिश्व बन्धुत्व सकारात्मक शन्देशमा साथ बाबाहरु पनि यदाकदा भेटिन्छन् । तिनिहरुबाट तपाईंले आत्तिनु पर्दैन । किनभने अहिले डुप्लिकेट माल भएपनि बिक्छ । किनकी तपाईं ठुला ठुला पत्रकार हातमा लिनु भएको छ मन्त्रीहरुपनि तपाईंकै हातमा छन् र ति ओर्जिनल बाबाहरु भन्दा तपाईं बलियो यस मानेमा हुनुहुन्छ कि- नेता ब्यापारी र तपाईंको उद्धेश्य ठ्याक्कै मिलेको छ ।

'बाबा' अहिलेको सबैभन्दा बिकाउ बिजनेस हो । जहां पुग्दैनन् रबि त्यहां पुग्छन् कवि भनेजस्तो जहां मौलन्छ अन्धबिश्वास-त्यहां बाबाहरुको निवास हुन्छ । तपाईंलाईं लाग्ला-बाबा बन्न आफ्नै खाने बिचार चाहिन्छ । पर्दैन गीताको एउटा श्लोक टिप्नोस् कुनै बुद्धको बाणी झिक्नोस् एउटा जिससको शन्देश चुन्नोस् र पैगम्बर मोहम्मदको एउटा हरम खोज्नोस् र माक्स्रको एउटा बिचार पनि संकलन गरीहाल्नोस् । ति सबै बिचार सिद्धान्त र धारणाहरुलाई एकैठाउंमा बोल्नोस्-तपाईंको आफ्नै पन्थ तया भयो । अब तपाईं एउटा अलग्गै धारको 'बाबागिरी'को सुपरमार्केट शुरु गर्न सक्नुहुन्छ ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस