माओवादीले साङले जुलुसबाट रिङरोड घेर्ने खबर मंगलबार बिहानै आएको थियो। २७ किलोमिटर लामो रिङरोड कसरी घेर्ने होलान् भन्ने चासो लागेको थियो। भन्नलाई त सुरुमा एकै लुगा लगाएकाहरुले घेर्ने भनिएको थियो। चासो त थियो तर कार्यालयमा व्यस्त भइयो भने फिल्डमा जान पाइँदैन भन्ने थाहा पनि थियो। त्यसो भयो भने टेलिभिजनमा लाइभ हेरेर चित्त बुझाउनु पर्ला भनी सोचेको थिएँ। आजभोलि यति धेरै न्युज च्यानल छन् र उनीहरुबीच यति चर्को प्रतिस्पर्धा छ कि घरै बसेर सबै लाइभ हेर्न पाइन्छ। तर पनि फिल्डमा गएर आफ्नै आँखाले त्यहाँको वातावरण हेर्नु र टेलिभिजनले देखाएका दृश्य हेर्नुमा फरक हुन्छ। टेलिभिजन हेर्दा उसले देखाएका दृश्यमात्रै हेर्न हामी बाध्य हुन्छौँ, तर आफै जाँदा त्यसबाहेकका दृश्य पनि हेर्न पाइन्छ।
कलंकीमा मानव चेन बनाउँदै।
साथी भोजराज भाटले निमन्त्रणा गरेपछि म क्यामेरा बोकेर जान तयार भएँ। हामी रिङरोड घुमेर शक्ति प्रदर्शन गर्न खोजेको माओवादीको शक्ति वास्तवमा कति रहेछ भनी जान्न चाहन्थ्यौँ। माओवादी अध्यक्षसहितको नेतृत्व बालाजुमा आउँदैछन् भन्ने खबर आएको थियो। त्यसैले हामी लाग्यौँ बालाजुतिर। बालाजु पुग्नुअघि शिक्षा मन्त्रालय, केशरमहल अगाडि आन्दोलनकारीहरु जम्मा भएका रहेछन्, त्यहाँ बसेर केही दृश्य हेर्यौँ। सुदूरपश्चिमबाट आएका आन्दोलनकारीहरु त्यहाँ रहेछन्। तीन दिनदेखि काठमाडौँका १८ ठाउँमा भेला भएर नाचगान गरिरहेका मध्ये यो एउटा ठाउँ थियो।
माओवादी नेताले चक्रपथ घेर्न जाने कार्यक्रमका लागि त्यहाँ जान आग्रह गरेपछि एक हुल आन्दोलनकारी चक्रपथतिर लागे। केही भने त्यही मोर्चामा डटी रहे। एकै छिनमा आन्दोलनका नारा समेटिएको देउडा सुरु भयो- लाल सलाम, लाल सलाम- माधवले देश बेचिखायो लाल सलाम। काँधमा काँध हालेर गोलो घेरामा खुट्टा एकै चालले हल्लाउँदै नाचिरहेको फोटो क्लिक गर्दैथियो सुदूरपश्चिमका पत्रकार भोजराज। म भने केही भिडियो खिच्दै थिएँ।
त्यहाँबाट हामी लाग्यौँ सोह्लखुट्टे हुँदै बालाजु चोकमा। यो अर्को ‘मोर्चा’ रहेछ आन्दोलनकारीहरुको। माइक साइक राखेर स्पिकर राखेर राता झण्डा गाडेर यहाँको मोर्चा डटेको रहेछ। प्रचण्ड निवास नयाँ बजारबाट यो ठाउँ नजिकै थियो र साङले जुलुसको नेतृत्व गर्न उनी आउँदैछन् भन्ने खबरका कारण सञ्चारकर्मीहरु त्यहाँ बिस्तारै भेला हुँदै थिए। स्थानीय बासिन्दाहरु उत्सुकतापूर्वक छेउ लागेर हेर्दै थिए। कोही भने रहरैले पनि होला हातमा हात बाँधेर साङ्ले जुलुसमा बाँधिदै थिए। मोर्डन ड्रेस लगाएकी केटी समेत साङलो बाँध्न आएको देखियो।
साढे तीन बजे प्रचण्ड आउँछन् भन्ने खबर भए पनि निर्धारित समयमा भने उनीहरु आइपुगेनन्। साङलो बाँध्न बाँकी थियो। वाइसीएल र स्वयंसेवकहरु खटिँदै थिए साङलो बाँध्न। गोंगबुतिरबाट बाँधिएको मानव साङ्लो बालाजुतिर आइरहेको थियो। केही समयपछि स्वयम्भूतिरबाट बाँधिएको साङ्लो पनि तन्कँदै आइपुग्यो। माइकबाट अनुरोध गरिँदै थियो- हाम्रो पार्टीलाई समर्थन गर्नेहरु अगाडि आएर बसिदिनुस्। ‘नेपाली क्रान्तिका महानायक…..’ खै के के हो के के प्रशंसाका पुलहरु बाँधेर यहाँ आउँदैछन् भनी निरन्तर माइकबाट फुकिँदै थियो।
एकछिनपछि उनीहरुले हँसिया हथौडा अंकित रातो कागज बाँध्न थाले। हेर्दाहेर्दे राताम्मे भयो त्यो ठाउँ। हामीले ठानेका थियौँ प्रचण्ड त्यहाँ आएर केही भाषणसासन गर्लान्। तर प्रधानमन्त्री, राष्ट्रपतिको ‘सवारी’ चलाइएको जस्तो गरी अगाडि वाइसीएलका सागर बाटो क्लियर गर्दै अगाडिपछाडि पत्रकार, मानवअधिकारवादीहरुको मोटरसाइकलको ‘एस्कर्टिङ’ सहित आएर हुँइकिहाले। प्रचण्ड, बाबुराम, मोहन वैद्य, नारायणकाजी श्रेष्ठहरु मिनी टाटा ट्रकमाथि बसेका थिए अनि हात हल्लाउँदै थिए। वरपर साङलो बाँधेर बसेकाहरु भने उनीहरुको स्वागत गर्दै कराउँदै चिच्याउँदै थिए। म अचम्ममा परेँ, हैन यो आन्दोलन हो कि विजय जुलुस? त्यो ट्रकमा बसेका कसैको अनुहारमा त अबिरसमेत देखिएको थियो।
संविधान सभाको चुनाव जितेपछि नयाँ बानेश्वरमा संविधान सभा भवनअगाडि निर्वाचित भएको प्रमाण पत्र बुझ्न प्रचण्ड लगायतका नेता आउँदा यस्तै भीड र जुलुस पारीको एउटा
रुफटप रेस्टुरेन्टबाट हेरेका थियौँ कृष्ण र मैले। अहिले त्यस्तो खुसी मनाउनु पर्ने कुनै कारण थिएन। न आन्दोलनले जितेको छ न अरु केही भएको छ। किन यो विजय उल्लास? केही बुझ्न सकिनँ मैले।
कलंकीमा फोटो खिच्ने क्रममा।
नेताहरु चढेको गाडी बालाजुबाट गोंगबुतर्फ लाग्यो, हामी भने लाग्यौँ विपरीत दिशातर्फ अर्थात् स्वयम्भूतिर। नेताको गाडी गुड्ने बित्तिकै साङ्ले जुलुस टुक्रिन्थ्यो। हामी जुलुस अवलोकन गर्न चाहन्थ्यौँ। त्यसैले त्यो गाडी नआउँदा उनीहरु कसरी जुलुसमा बसिरहेका थिए, त्यो हेर्न चाहन्थ्यौँ। त्यसैले हामीले विपरीत दिशा रोजेका थियौँ।
हाम्रो बायाँतिर साङ्ले जुलुस थियो। हातमा हात बाँधेर मान्छेहरु थिए। कति ठाउँमा सडकमा बसिरहेका थिए, कति ठाउँमा उभिरहेका थिए। सुरुमा सडकको एकातिर मात्र देखियो। स्वयम्भूतिर आइपुगेपछि सडकका दुवै ठाउँतिर देखियो। कुदिरहेको गाडीबीच हामी फोटो, भिडियो खिचिरहेका थियौँ। सब अनुहारलाई नियालेर हेर्न संभव थिएन। तर सबै खालका मान्छे देखिए- युवा, वृद्ध, बच्चा। महिला- पुरुष दुवै। भोजराज भन्दै थिए- ल विश्लेषण गर्नुस्, कहाँबाट आए/ल्याए यत्रा मान्छे, किन आए यत्रा मान्छे? कोठे विश्लेषण गरेर भएन। कलंकीमा सडकको दुवैतिर दुई लाइन मात्र होइन मानव चेनमाथि अर्को चेन बाँधिएको देखिन्थ्यो। चेनमा बाँधिनेहरु बाहेक स्थानीय बासिन्दाहरु परबाट उत्सुकताका साथ उभिएर हेरिरहेका थिए।
बल्खुमा दलित मुक्ति मोर्चाको ब्यानरमुनि बसेकाहरु।
बल्खुमा दलितहरुको ब्यानरसहित परम्परागत पहिरनमा बाजा बजाउँदै गरेको देखियो। जुन ठाउँमा एक लाइनमा मात्र मान्छे उभिएका देखिन्थे, त्यहाँनिर माओवादी कमजोर रहेछन् भन्दै ठट्टा गरिरहेका थिए भोजराज। बल्खु कटेर जाँदा एक ठाउँमा गीतारसहित र्याप गाउँदै आन्दोलनमा रहेकाहरु पनि देखिए। काठमाडौँबाहिरहरुको अधिकांश अनुहार देखिन्थ्यो। यतैका पनि नभएका हैनन्। के हुँदैछ भन्ने उत्सुकताका कारणले पनि होला सबै वर्गका मान्छे सबैतिरका मान्छे त्यहाँ उभिएका।
पानी परिरहेको बेला नाच्दै आन्दोलनकारीहरु।
हाम्रो गाडी गुड्दा र फोटो खिचिरहेको देख्दा वरपर उभिएकाहरु चिच्याउँदै हात हल्लाउँदै उफ्रन्थे- ‘नागरिक’ दैनिक भन्दै। बल्खुपारीको भिडियो खासै खिच्न सकिएन ब्याट्री सकिएकोले। फोटोहरु भने खिच्यौँ। तीनकुनेमा कलंकीको जस्तै धेरै मान्छे थिए। तीनकुने कटेर जाँदा नेताहरु चढेको गाडी भेटियो। उनीहरु अघि बालाजुमा जस्तै हात हल्लाउँदे थिए। गाडी आउँदै गर्दा पानी परेको थियो। पानी पर्दा पनि चेन बनाएर बसेकाहरु हटेका थिएनन्। गाडी गइसकेपछि भने उनीहरु विजयी मुद्रामा नाच्दै, उफ्रँदै थिए।
गाडी गुडिसकेपछि चेन भंग भइसकेको हुनाले हामीले गौशालाबाट उता जान उचित ठानेनौँ। दिनभरको कामको कारण थकान पनि भइसकेको थियो। त्यसैले मैतिदेवी हुँदै कार्यालय सुन्धारातिर लाग्यौँ। यतिञ्जेल हड्ताल किनमेलका लागि खुला हुने निर्धारित समय अर्थात् साँझ ६ बजिसकेको थियो। तरकारी किन्दै गरेको केही फोटो खिचेर हामी फर्क्यौँ। त्रिपुरेश्वरमा भित्री भागमा खुलेको पसलमा खाजा खाएर हामी फर्क्यौँ।
बालाजुमा बाँडिएको रातो कागज बोक्दै।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस