
वीरगञ्ज, ११ भदौ
भारतीय अर्धसैनिक बल एसएसबीले सीमाक्षेत्रमा नेपालीलाई कुटपिट गर्दा नेपाली प्रशासन मौन बसेपछि हतियारधारी भारतीय प्रहरी नेपालभित्रै पस्न थालेका छन् । दादागिरी देखाउँदै अत्याधुनिक हतियारसहित नेपाल पसेका भारतीय प्रहरीलाई पनि नेपाल प्रहरीले विनाकारबाही छाडेको छ ।
युपी १६४१ नं. को स्करपियो जिपमा सइ विनोद मिश्राको नेतृत्वमा भारतीय प्रहरीको टोली दुई दिनअघि नेपाल प्रवेश गरेको थियो । टोलीमा प्रहरी जवान रमेश सिंह, रामसुन्दर मौर्य र गाडीचालक रञ्जित सिंह थिए ।
अत्याधुनिक हतियार तर सादा पोसाकमा रहेका उनीहरूलाई वीरगञ्जको बिर्ता वडा प्रहरी कार्यालयका निरीक्षक कमलबहादुर भुजौरियाको टोलीले घन्टाघरबाट पक्राउ गरेको थियो । भारतीय प्रहरीको साथबाट दुई नाल इनसास राइफल र त्यसको गोली एक सय ६० थान, एक थान थ्री नट थ्री राइफल र त्यसको गोली ५० थान तथा एक थान पेस्तोल बरामद गरिएको थियो ।
पक्राउ परेका प्रहरीहरू भारत उत्तरप्रदेश सोनभद्रा जिल्ला शक्तिनगर थानाका रहेको नेपाल प्रहरीको स्रोतले जनाएको छ । नेपालमा जाली नोटको कारोबार भएको भन्दै छानबिनका लागि दुई दिनदेखि वीरगञ्जमा गस्ती गरिरहेको बयान पनि उनीहरूले दिएका छन् ।
अनधिकृत रूपमा नेपाल प्रवेश गर्नेहरूलाई सबक सिकाउन पाइने भयो भनेर भुजौरियाको टोली खुसी भए पनि जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई चुप रहन आदेश दिएको थियो । जिपमा चढेर निर्धक्क घन्टाघर क्षेत्रमा घुमिरहेका हतियारधारीहरूलाई पक्रेर वडा प्रहरी कार्यालय ल्याएपछि केहीबेर अनुसन्धान भएको थियो ।
भारतीय प्रहरीलाई डिएसपी मसाउद अली खाँको टोलीले जिल्ला प्रहरी कार्यालय लगेको र यो सूचना 'लिक' नगर्न निर्देशन दिएको एक प्रहरीले बताए । जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई घटनाबारे तत्कालै खबर गरेको स्रोतका दाबी छ । खबर पाएपछि गृह मन्त्रालयले भारतीय दूतावासमा सम्पर्क गरेपछि भारतीय प्रहरीलाई विनासर्त छाड्ने आदेश गएको थियो ।
माथिबाट आदेश गएपछि वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत जोन सिल्सी र वीरगञ्जका एसपी सुबोध घिमिरेबीच यो घटनालाई गुपचुप नै राख्ने सहमति भएको स्रोतको दाबी छ । आफ्ना प्रहरीलाई छुटाउन महावाणिज्यदूत सिल्सी एसपी घिमिरेको निवासमै पुगेका थिए । घटनाबारे आधिकारिक जानकारी दिनुपर्नेमा जिल्ला प्रहरीका अधिकारीहरू मोबाइलको स्विच अफ गरी बसेका छन् ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस