Wednesday, August 26

भीषण पहिरो, गाउँ नै विस्थापित

ध्रुवसागर शर्मा, (रायखोर, म्याग्दी) म्याग्दीको पाखापानी गाविस-९ रायखोर भन्ने ठाउँमा आइतबार राति गएको भीषण पहिरोले रायखोर गाउँमा बसोबास गर्ने पूरै घरपरिवार विस्थापित भएका छन् र त्यहाँको ५ सय रोपनी खेतीयोग्य जमिनसमेत बगाएको छ।

पहिरोबाट विस्थापित ३५ घरपरिवार अलपत्र अवस्थामा छन्। ६१ जनाको खेतबारी पहिरोले बगाउँदा उनीहरू सुकुम्बासी भएका छन्। ५ वर्षघिदेखि शुरू भएको सो ठाउँमा पहिरो नियन्त्रणमा कुनै प्रयास नहुँदा अहिले त्यसले भीषण रूप लिएको हो।

पहिरोले नरबहादुर पुन, धनबहादुर पुन, किर्तमान पुन, देवीलाल पुन, भविराज पुन, डिलबहादुर पुन, बमबहादुर पुर्जा, तेसीसरा शेरभुजा, बसमाया पुनलगायत ३५ परिवार विस्थापित भएका छन्। उनीहरू आफन्तकहाँ आश्रय लिएर बसेका छन्। उनीहरूले पहिरो खस्न शुरू गरेपछि घर छाडेकाले कुनै मानवीय क्षति भएको छैन।

पहिरोपीडित तेसीसरा शेरभुजाले आफ्नो करिब १० रोपनी जग्गा सहित घर पनि पहिरोले बगाएको बताउँदै के खाने र कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुभयो। पहिरोले धान खेत तथा मकै र कोदोबारी बगाएको छ। पहिरोबाट विस्थापितहरू रायखोर डाँडा, अर्मुदी, चिमखोला, पाखापानीलगायतका गाउँमा आश्रय लिइरहेका छन्। ‘बसाइ सरेर रायखोर डाँडा आएका छौं’ -स्थानीय किर्तमान पुनले भने।

पहिरो अझै एक दुई दिन लगातार रूपमा जाने हो भने रघुखोला थुनिन गई त्यसबाट म्याग्दीका एक दर्जनभन्दा बढी मानव बस्तीलाई क्षति पुर्याउने सम्भावना रहेको पूर्ववडाअध्यक्ष देवीलाल पुनले बताए। पहाडका ठुलाठुला चट्टान फुटेर पहिरो गएको छ।

केही दिनअघिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाने क्रम शुरू भएपछि पशु चौपाया, घरमा रहेको अन्नपात तथा सम्पत्तिसहित आफूहरू अन्यत्रै सरेकाले बच्न सफल भएको स्थानीयवासीले बताएका छन्। पहिरोबाट करिब १० करोड रुपियाँभन्दा बढीको क्षति पुगेको स्थानीय संघषॅ युवा क्लबका उपाध्यक्ष खिम पुनले बताउनुभयो।
साभार-समाचारपत्र दैनिक

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस