नगरकोट र गोदाबरी बारम्बार दौडाइरहने न्युरोडनजिक मञ्जुश्री टोलका आशिषकुमार शाक्य अहिले अमेरिकी रेसिङ ट्र्याकमा व्यस्त छन् । उनी पढ्नका लागि सन् २००७ जनवरीमा अमेरिका पुगेका थिए । दुई वर्षअघि अमेरिकी सडकको बाइक लाइसेन्स लिएपछि उनी असली ट्र्याकको खोजीमा जुटे ।
उनको सानैदेखिको सपना पूरा गर्न बाइक लाइसेन्स मात्र पर्याप्त थिएन, रोड रेसिङको विशेष लाइसेन्स नै हुनुपथ्र्यो । अन्ततः उनी सेन्ट्रल रोड रेसिङ एसोसिएसन -सीआरए) पुगे र कठिन परीक्षा पार गर्दै 'रेसिङ लाइसेन्स' लिइछाडे । '३-६ महिनाको कोर्स गरेरेर ट्रायल दिएँ,' टेलिफोनमार्फत उनले भने, '१-२ पल्ट त ट्र्याकमै लडियो । नियम पालन गर्न गाह्रो थियो । केही महिना पढेपछि मात्र ट्रायल पास गरे र मे, २००९ मा लाइसेन्स हात लाग्यो ।'
लगत्तै उनले अमेरिकी ट्र्याकमा बाइक हाँक्न थाले । सीआरएमा वाषिर्क १५ रेस हुन्छ । मिनेसोटामा समर सिजनमा मेदेखि सेप्टेम्बरसम्म हुने नौ रेसमा आशिष सहभागी हुन्छन् । हिउँ जम्ने भएकाले हिउँदमा त्यहाँ रेस हुँदैन । शुक्रबार, शनिबार र आइतबार रेसिङ हुन्छ । काम गर्नुपर्ने र कलेज जानुपर्ने भएकाले सबै रेसमा सहभागी हुने मौका उनलाई हुन्न ।
त्यसैले उनले दुई सिजनमा जम्मा दर्जन रेस खेले । दर्जन रेसमा आशिष सहभागी भइसकेका छन् । गत वर्षको रेस उनको पहिलो अनुभव थियो । एक महिनाअघि सकिएको दोस्रो सिजनमै उनी आफ्नो स्पर्धामा दोस्रो भए । पछिल्ला तीन रेसमा लगातार दोस्रो हुँदै समग्रमा सिजनको उपविजेता भए । 'यो निकै राम्रो नतिजा हो,' उनले भने, 'अर्को सिजन उपाधि जित्ने प्रयास गर्नेछु ।'
एक रेसिङ सप्ताह छुटाएर पनि ३४ नियमित रेसरलाई पछि पार्दै उनी उपविजेता भएका हुन् । स्पिड हाँक्नेभन्दा टर्निङमा राम्रो गर्नेले रेस जित्ने उनको बुझाइ छ । कुनै बेला चिकित्सक पिता सुशीलकुमार शाक्यको राजदूत बाइक लुकेर चलाउने उनी असली ट््रयाकमा उभिँदा सपनाजस्तै मान्छन् । सम्भवतः उनी नेपालको पहिलो व्यावसायिक बाइक रेसर हुन् ।
सेन्ट पलको राजधानी मिनेसोटास्थित मेट्रो स्टेट युनिभर्सिटीमा उनी कम्प्युटर साइन्समा स्नातक गरिरहेका छन् । रेसिङले मात्र उनलाई पढ्ने र खेल्ने खर्च पुग्दैन । त्यसैले उनी मानसिक रूपमा अस्वस्थ बालबालिका हेर्ने काम पनि गर्छन् । निक क्याम्बेल र ब्राड ज्याइक उनका प्रशिक्षक हुन् । ४१ वर्षे ब्राडसँग अमेरिकी रेसको दुई दशक लामो अनुभव छ ।
आशिषले उनीसँग २ वर्षयता सिक्न थालेका हुन् । निकसँगको संगत एक वर्ष भइसकेको छ । 'ट्र्याकमा बाइक कुदाउने तरिकामा ब्राडले सधैं सहयोग गर्ने गर्छन्,' उनले भने । नेपालमा बाइक चलाउँदा इसीजी टेक्निसियन आमा अरुणा शाक्य साह्रै डराउँथे । अहिले पनि आशिषलाई बारम्बार सम्झाउँछन् । शाक्य दम्पतीका दुई छोरा र एक छोरीमध्येका जेठो सन्तान हुन् उनी । पिताले घरमै बाइक छोडेको मौकामा सुटुक्क चाबी झिकेर उनी बाइक चलाउँथे ।
राजदूतदेखिको यात्रा
बृहस्पति विद्या सदनमा कक्षा-८ मा अध्ययनरत छँदै उनले १०० सीसीको राजदूत पहिलोपल्ट चलाएका थिए । प्राइम कलेजमा ११ कक्षामा पढ्दै गर्दा राजदूत बेचेर पिताले १ सय ७० सीसीको काइनेटिक लेजर किनेका थिए । उनले त्यही बाइकमा दुई वर्ष निस्पिmक्री स्टन्ट गरे । उनीसँग अहिले तीन बाइक छन् । एक हजार सीसीको 'यमाहा आर १०००' । ६ सय ५० सीसीको 'सुजुकी ६५०' । ६ सय सीसीको 'कावासाकी ६००' । एक बाइकको मूल्य ११ हजार अमेरिकी डलर पर्छ । उनी कहिलेकाहीं साथीको 'डुकाटी १०९८' पनि चलाउँछन् । ६ सयदेखि ६ सय ५० सीसीको मिडलवेट स्पर्धामा आशिष रेस गर्छन् । सात सय ५० सीसीभन्दा माथिको रेसलाई हेभिवेट र ६ सयभन्दा थोरैलाई लाइटवेट भनिन्छ । सीआरएको ट्र्याकमा ३ माइल -करिब ६ किलोमिटर) को ल्याप उनी १ मिनेट ४० सेकेन्डभित्र पूरा गर्छन् ।
पाँच प्रायोजक
इञ्जिनको प्रयोग हुने खेल 'अटो स्पोर्ट्स' महँगो मानिन्छ । सुपरबाइक रेसको खर्च पनि कम छैन । सीआरएमा प्रतिसाता कम्तीमा ५ सय डलर खर्च हुन्छ । आशिषलाई पाँच कम्पनी पेरेली, पिटबल, इबीसी ब्रेक्स, जार र मोमेन्टमले प्रायोजन गरेको छ । उनीहरूले टायर, बाइकको पार्टपुर्जा, रेसिङ सामग्री दिने तथा बाइक मर्मत गर्छन् । उनलाई नगद प्रायोजनचाहिँ छैन । 'चाँडै भेट्ने आश छ,' उनले भने, 'अहिलेका प्रायोजकलाई राम्रै मान्नुपर्छ । एउटा रेसमा एक टायर काम नलाग्ने हुन्छ । त्यसको मूल्य नै ३ सय डलर पर्छ ।'
मिसन मोटो जीपी
अहिले उनी प्रतिघन्टा २ सय ९० किमिको गतिमा बाइक चलाउँछन् । मोटो जीपीका रेसरको औसत स्पिड प्रतिघन्टा ३ सय १० किमि छ । त्यसैले मोटो जीपीमा स्थान पाउन उनले अलि मिहिनेत गरे पुग्छ । 'सबै नेपालीले सपोर्ट गरे एक वर्षभित्रै मोटो जीपीमा जानसक्छु र संसारभरि नेपालको सान बढाउनेछु,' उनले बताए । निकै महत्त्वकांक्षी आशिषको लक्ष्य मोटो जीपीमा वल्र्ड च्याम्पियन बन्ने हो ।
यही वर्ष भएको वल्र्ड मोटो जीपी च्याम्पियनसिपमा भ्यालेन्टिनो रोसीलाई हराएका बेन स्पाइस दुई वर्षअघिसम्म सीआरएकै रेसर थिए । विश्वकै सर्वाधिक सफल बाइक रेस रोसीको कमाई प्रायोजनबाहेक वाषिर्क ४ करोड डलर छ । मोटो जीपीका रेसरले औसत २ करोड डलर कमाउँछन् ।
सीआरए व्यावसायिक 'सुपरबाइक रेसिङ' हो, जहाँ प्रत्येक साताका विजेता १० हजार डलर पाउँछन् । अमेरिकाको आठ क्षेत्रमा सीआरए रेसिङ हुन्छ । योभन्दा उच्च अल अमेरिका रोड रेसिङ एसोसिएसनको 'एएमए रेसिङ' हो, जहाँ मोटो जीपी रेसर पनि हुन्छन् । संसारकै सर्वोच्च रेसिङ हो, मोटो जीपी ।
मोटो जीपीमा बाइकको स्पिड उच्च हुन्छ । रेसकै लागि विशेष रूपमा बनाइएको बाइक प्रयोग गरिन्छ । मोडिफाइड इन्जिन हुन्छ । सुपरबाइक भने बजारमा ल्याउन उद्योगले बनाएको ब्रान्ड हो ।
गलत सुरुआत
उनले काठमाडौंमा गरेको रेस र रियल रेस ट्र्याकमा गरेको रेसमा आकाश-जमिनको फरक रहेको अनुभव गरेका छन् । रेस ट्र्याकमा निकै तीव्र गतिमा बाइक चलाउने उनले सोचेका थिए । 'मेरो विचार गलत रहेछ,' उनले भने, 'तीव्रतालाई होइन, सुरक्षित रेसको नियमलाई महत्त्वपूर्ण रहेछ ।'
नेपाली सडकमा साथीहरूसँगको प्रतिस्पर्धामा उनी सधैं पहिलो हुन्थे । कहिल्यै दुर्घटनामा परेनन् पनि । वसन्तपुर दरबार क्षेत्रमा स्टन्ट गर्थे । नेपाली सडकमा प्रति घन्टा १ सय ३० किलोमिटरसम्मको स्पिडमा बाइक हाँक्थे । 'प्रायः स्पिड प्रतिघन्टा ८०-१ सय किमि हुन्थ्यो,' उनले पुराना दिन सम्झे, 'अहिले लाग्छ, त्यो दौडाइ पागलपन थियो । फेरि त्यसरी कहिल्यै बाइक हाक्दिनँ । नेपालकेा सडक रोड रेसको लायक होइन । रेसर सेफ हुनुपर्छ ।'
साभार - इ कांतिपुर डोट कॉम
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस