नयाँ पत्रिका
काठमाडौं, २५ जेठ
बसुन्धरामा मंगलबार बिहान शक्तिशाली विस्फोट भएको छ । कारमा राखिएको बम विस्फोट हुँदा चारजना घाइते भएका छन् ।
बसुन्धरास्थित इशान बाल अस्पतालअगाडि पार्किङ गरिराखेको बा४च ५५३९ नम्बरको कारमा बम विस्फोट भएको हो । कार रोकेको दस मिनेटपछि ठूलो आवाजका साथ विस्फोट भएको प्रत्यक्षदर्शीले बताए । प्रहरीका अनुसार कारमा चालकसँगै दुईजना बिहान करिब सात बजे अस्पतालअगाडि आएका थिए ।
विस्फोटपछि कारमा आगो लागेको थियो । दमकलले आगो नियन्त्रणमा लिए पनि कार पूर्ण रूपमा नष्ट भएको छ । विस्फोटबाट वरिपरिका घरको झ्यालका सिसासमेत फुटेका छन् ।
विस्फोटमा परेर नजिकैका एक पसले पोटन ठाकुरसहित बटुवाहरू भरत केसी, नयनप्रसाद सुवेदी र सोमनाथ महतो घाइते भएको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ । सामान्य घाइते उनीहरू उपचारपछि मंगलबार साँझ घर फर्किसकेका छन् ।
विस्फोटको केही समयपछि पुगेको प्रहरीले कारभित्र अर्को एउटा सकेट बमसमेत फेला पारेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बम निष्त्रिmय पारेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले कारमा सकेट बम र पेट्रोल बम विस्फोट भएको खुलेको छ । सकेट बम विस्फोट भएलगत्तै पेट्रोल बम विस्फोट भएको र त्यसपछि कारमा आगो लागेको प्रहरीको अनुमान छ ।
'सुरुमा कारमा प्राविधिक गडबडीका कारण आगो लागेको सोचेका थियौँ,' अनुसन्धानमा संलग्न एक प्रहरीले भने, 'पछि आगो निभाएर हेर्दा भित्र बम रहेको पाइएपछि विस्फोट गराएको पुष्टि भयो ।' बिहानको समय भएको र अर्को बम विस्फोट नभएकाले ठूलो क्षति नभएको प्रहरी वृत्त महाराजगन्जका डिएसपी दीपक थापाले वताए । उनका अनुसार विस्फोट भएको बम कमसल स्तरको हो ।
प्रहरीले घटनालगत्तै कारचालक दीपक विष्टलाई पक्राउ गरेको छ । विष्टको बयानका आधारमा नवीन विष्ट र राजु खत्रीलाई समेत पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिए ।
दीपकसहित खत्री र नवीन कारबाट ओर्लेको केही समयलगत्तै विस्फोट भएको थियो । कार विस्फोट हुँदा दीपक त्यहीँ नजिकै थिए भने खत्री र नवीन भने भागिसकेका थिए । तर, कार जल्दासमेत कुनै वास्ता नगरेपछि शंका लागेर उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनकै जानकारीको आधारमा राजु र नवीन विस्फोटको केही समयपछि पक्राउ परेका हुन् । उनीहरू तीनैजनालाई प्रहरी वृत्त महाराजगन्जमा राखेर अनुसन्धान थालिएको छ ।
पक्राउ परेकाहरू भने पैसा दिएर काम गर्न लगाइएका व्यक्ति भएको प्रहरीको भनाइ छ । 'उनीहरू मुख्य जिम्मेवार भएको पाइएको छैन,' डिएसपी थापाले भने, 'दुईजनाको पहिचान भएको छ उनीहरूको खोजी गरिरहेका छौँ ।' विस्फोटका लागि प्रयोग गरिएको कार ट्याक्सी मजदुर संघका कोषाध्यक्ष राम अधिकारीको भएको प्रहरीले जनाएको छ । कार केही दिनअघि मात्रै नौ लाख रुपैयाँमा खरिद गरेको अधिकारीले प्रहरीलाई बताएका छन् ।
यसैबीच विस्फोटको जिम्मा स्वतन्त्र नेपाल पार्टी नामक संगठनले लिएको छ । विस्फोट भएको स्थाननजिकै सोही पार्टीको नामको पर्चासमेत फेला परेको थियो । विस्फोटलगत्तै विज्ञप्ति जारी गरी संगठनले संविधानसभाको म्याद थपिएको विरोधमा आफ्नो संगठनले विस्फोट गराएको दाबी गरेको छ । विज्ञप्तिमा ०६७ सालमा स्थापना भएको आफ्नो पार्टीको केन्द्रीय कार्यालय सिन्धुलीगढी रहेको भन्दै पार्टीका चार महासचिवको नामबाट विज्ञप्ति जारी गरिएको छ । सहमतिका नाममा जनतालाई धोका दिनेविरुद्ध संघर्ष जारी राख्ने चेतावनीसमेत दिइएको छ ।
प्रहरीले भने आपराधिक समूहले विस्फोट गराएको दाबी गरेको छ । 'जनतालाई तर्साउने, क्षति पुर्याउने हिसाबले आपराधिक समूहले विस्फोट गराएको हो,' डिएसपी थापाले भने, 'त्यो पार्टीको नामको विज्ञप्ति झुटो हो ।'
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस