माओवादी स्थायी समितिको बैठकले अनिश्चितकालीन आम हड्ताल फिर्ता गरेको छ। छैटौँ दिनसम्मको हड्तालमा देशभर र राजधानीमा समेत शान्तिका लागि बन्दको प्रतिकार भइरहेको बेला माओवादीले शुक्रबार राति अबेर हड्ताल फिर्ता लिएको हो। माओवादीले जेठ १४ अघि नै अर्को आन्दोलन गर्ने पनि बताएको छ। त्यसअघि भोलि माओवादीले राजधानी र बाहिर जिल्लामा र्याली गरी २ बजे सभा गर्ने रे। अनि पर्सि सिंहदरबार घेर्ने रे। माग पूरा नभएसम्म सडक छाड्दैनौँ भनी उद्घोष गरिरहेको माओवादी जनदबाबका बीच बन्द फिर्ता लिन बाध्य हुनु उसको ठूलै रणनीतिक पराजयका रुपमा रहनेछ उसैले भन्दै आएको ‘कठपुतली सरकार’का अगाडि। शायद त्यसैले होला, उसले हड्ताल फिर्ता हैन ‘स्थगित’ भन्ने शब्द प्रयोग गरेको छ।
‘अन्तिम विद्रोह’ गर्ने भनी ल्याइएका कार्यकर्तालाई नेतृत्वले कसरी सम्झाउने हो र यत्रो क्षति गरी छ-छ दिनसम्म जनतालाई बन्धक बनाएर गरिएको बन्दले हात लाग्यो सून्य स्थितिमा फर्कन बाध्य हुनुले प्रचण्ड कै नेतृत्व क्षमताप्रति पार्टीभित्र प्रश्न उठ्ने हो कि हैन, त्यो पनि हेर्न बाँकी हुन्छ।
एउटा कुरामा भने हामी खुसी हुनुपर्छ। आज राजधानीमा शान्तिका लागि निस्किएको जुन र्याली थियो, त्यसमा माओवादी हस्तक्षेप भएपछि जस्तो खालको तनावको स्थिति देखिएको थियो, त्यसले ठूलै रक्तपात हुने भय व्याप्त बनाएको थियो। तर कम्तिमा त्यो संभावना हालका लागि टरेको छ। सबको कल्याण होस् !!
वास्तवमा ‘जुवा’ खेलेका थिए सत्ता पक्ष र माओवादी दुवैले यतिबेला जनतालाई बन्धक बनाएर। जनता प्रतिकारमा उत्रिएपछि माओवादी बन्द फिर्ता लिन बाध्य हुनुपर्छ भनी सरकारले गरेको अनुमान यतिबेला सही साबित भएको छ। तर बन्द फिर्ता हुनु नै सरकारको उपलब्धि भने हैन। बन्दको विरोधमा उत्रिएका सबै सरकारको समर्थक भनेर सोच्नु सरकार पक्षको चश्मा दोषी हुनु हो। बन्द फिर्ता भएर तत्कालका लागि छ-छ दिनसम्मको पीडाबाट सर्वसाधारणले मुक्ति पाएको मात्रै हो। समस्याहरु जस्ताको तस्तै छन्। संविधान बनाउनु पर्ने निर्धारित समय नजिकिँदैछ। मुख्य तीन दलहरु अझै मिल्न सकेका छैनन्।
तर पनि बन्द गर्दैमा माग पूरा हुन्नन्, छ दिन बन्द हुँदा त माग पूरा भएन भन्ने एउटा नजिर बसेर भूँइफुट्टा पार्टीले समेत गर्ने एक दिने बन्दहरु अबदेखि बन्द होस्, यही कामना !
साभार- माई संसार डोट कॉम
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस